इमरान खानः पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार भएपछिको तनावमा कैयौँको मृत्यु

काठमाडाैं – मङ्गलवार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउसँगै देशव्यापी प्रदर्शन चर्किरहँदा उनले आफूविरूद्ध लगाइएका भ्रष्टाचारका अभियोगमा निर्दोष रहेको बताएका छन्।

उनी इस्लामवादबाट गिरफ्तार भएयता देशभर भएका प्रदर्शनमा १ हजारभन्दा धेरै मानिसहरू पक्राउ परेको प्रहरीले जनाएको छ। र सरकारले सेनालाई राजधानीको सुरक्षा व्यवस्था कायम गर्न आह्वान गरेको छ।

न्यायाधीशले पछिल्लो मुद्दामा खानलाई आठ दिन हिरासतमा राख्ने आदेश दिएका छन्।

बुधवार खानविरुद्ध निर्वाचन आयोगले अगाडि सारेको एक अभियोगमा उनले प्रधानमन्त्रीका हैसियतमा पाएका उपहार गैरकानुनी ढङ्गले बेचेको भनिएको थियो।

यी उनीविरूद्ध औपचारिक रूपमा लगाइएका दर्जनौँ मुद्दामध्ये सुरुवाती हुन्।

महिनौँदेखि उनी पक्राउ हुनबाट जोगिएका थिए जसक्रममा कैयौँपटक समर्थकहरूले खानको पक्राउ रोक्नका लागि मुठभेडमा उत्रिएका थिए।

कडा सुरक्षा व्यवस्था
उनलाई राखिएको प्रहरी गेस्टहाउसमा उच्च सुरक्षा व्यवस्था कायम गरिएको छ र त्यहीँ अदालती कारबाही समेत सञ्चालन गरिएको छ।देशको आर्थिक सङ्कटबीच यस पक्राउले खान र सैनिकबिच नाटकीय तनाव उत्पन्न गराएको छ।

दोषी पाइए उनी चुनाव लड्न सधैँका लागि अयोग्य ठहरिनेछन्। पाकिस्तानमा यस वर्षको अन्त्यतिर आमनिर्वाचन हुँदैछ।

उनको पक्राउलाई लिएर खानको दल तहरिक–ए–इन्साफले मानिसहरूलाई बुधवार इस्लामावादस्थित ज्युडिसिअल कम्प्लेक्स बाहिर जम्मा हुन अपिल गरेको थियो।

कतिपय समर्थकहरूले लहोरको सैनिक शिविर बाहिर शिविर बनाएर रात बिताएका थिए। उनको पक्राउको खबर फैलिएपछि भीड सैनिक कमान्डरको घरभित्र प्रवेश गरेको थियो।

खानका समर्थक र सुरक्षा फौजबीच भिडन्त चलिरहँदा देशभर मोबाइल सेवा अवरुद्ध छ।

खानको पक्राउपछि देशभर सिर्जना भएको हिंसक प्रदर्शनहरूमा परेर आठ जना मानिसहरूको मृत्यु भएको बताइएको छ।

खानलाई किन पक्राउ गरियो?
खानलाई इस्लामावादस्थित अदालत परिसरबाट मंगलवार अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका थिए।

भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए। बीबीसी संवाददाता शुमाइला जाफरीका अनुसार इस्लामावाद प्रहरीले, खानलाई अदालत परिसरबाटै अल कादिर ट्रस्टबारे मुद्दामा पक्राउ गरिएको बताएको छ।

पाकिस्तानी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणहरूका अनुसार पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा लिएर भ्रष्टाचारका मुद्दाहरूबारे अनुसन्धान गर्ने न्याशनल एकाउन्टिबिलिटी ब्यूरो एनएबीमा पठाइएको छ। विवरणहरूका अनुसार खान अर्को मुद्दाको धरौटी बुझाउन अदालत पुग्नुअघि नै एनएबी टोली त्यहाँ पुगेको थियो।
उनीविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन्। यद्यपि, आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आएका छन्।

अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई गाडीमा राखेर लगेका थिए।

के हो अलकादिर ट्रस्ट मुद्दा?
गत वर्ष जुनमा पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आएपछि पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीले एक घर जग्गा व्यवसायीको ५० अर्ब रुपैयाँलाई कानुनी मान्यता दिएको बदलामा अर्बौँ रुपैयाँ बराबरको जग्गा अधिग्रहण गरेको बताइन्छ।

यस सम्बन्धमा आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले पत्रकार सम्मेलनमा पीटीआई सरकारमा छँदा ब्रिटिश न्याशनल क्राइम एजेन्सीले त्यो पैसा व्यवसायी मलिक रियाजमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पछि फिर्ता गरेको र लगत्तै खानले उनीबाट अधिग्रहण गरेको जग्गा फर्काएको आरोप लगाएका थिए।

इमरान खानलाई पक्राउ गरिँदै
यसै सम्बन्धमा व्यवसायी रियाजले आफ्नो अन्य अवैध “मुद्दालाई ढाक्न“को लागि अल कादिर विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराएको सरकारको आरोप छ।

खानले अल कादिर विश्वविद्यालय परियोजनाका लागि सन् २०१९ को डिसेम्बर २६ मा अल कादिर ट्रस्ट दर्ता गरेका थिए। यस ट्रस्टमा खान र उनकी पत्नी बुशरा बीबीमात्र ट्रस्टी छन्।

मन्त्रिपरिषद्ले रियाजको स्वामित्व रहेको बहरिया टाउनको बारेमा निर्णय गरेको केही दिनपछि इमरान खानले उक्त ट्रस्ट दर्ता गरेका थिए।
समर्थकको प्रदर्शन
इमरान खानको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिरहेका पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका छन्।

इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ। घम्साघम्सीमा परी ३ जना प्रहरी अधिकारी घाइते भएका छन् भने ४३ प्रदर्शनकारी पक्राउ परेका छन्।

खानलाई पक्राउ गरेपछि लाहोरको सडकमा पनि प्रदर्शनकारीहरू जम्मा भएका छन्। उनीहरूलाई हटाउन प्रहरी पुगेको छ।

बीबीसी संवाददाता फुरकानका अनुसार खानको घर अवस्थित जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका छन्।

खानका समर्थकको प्रदर्शन

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिरहेको छ। सोही क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन्। यस सम्बन्धमा बीबीसीलाई प्राप्त भिडिओमा आक्रोशित प्रदर्शनकारीले त्यहाँको गेट बाहिर तोडफोड गरी जबरजस्ती भित्र पसेको देख्न सकिन्छ।

प्रधानमन्त्रीले के भने?
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इमरान खानले सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई बदनाम गर्ने नीति अपनाएको आरोप लगाएका छन्।

उनले भने, “सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई संस्थाको रूपमा बारम्बार बदनाम गर्ने तपाईँको नीति रहेको छ। के तपाईँले वजीराबाद घटना हुनुअघि नै सेना, गुप्तचर निकाय र तीनको नेतृत्वलाई बदनाम गरिरहनुभएको थिएन?“

वजीराबादमा एक बन्दुकधारीले इमरान खानमाथि गोली प्रहार गरेका थिए र खान घाइते भएका थिए।

दर्जनौँ मुद्दा
गत वर्ष खान सत्ताच्युत भएका थिए। त्यसयता उनले समयअगावै निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आएका छन्।

गत नोभेम्बर महिनामा एउटा ¥यालीको क्रममा इमरान खानमाथि गोली प्रहार गरिएको थियो। घटनामा उनी बाँच्न सफल भएका थिए।

पाकिस्तानमा यसै वर्षको अन्त्यतिर आमनिर्वाचन हुने तय भएको छ। सत्ताबाट बाहिरिएयता इमरान खानविरुद्ध दर्जनौँ मुद्दा चलाइएका छन्।

सोमवार मात्रै पाकिस्तानी सेनाले “आधारहीन आरोपहरू“ नलगाउन चेतावनी दिएको थियो।

“आफ्नो हत्या गर्ने षड्यन्त्र“ भइरहेको भन्दै खानले एक वरिष्ठ सैनिक अधिकारीमाथि “आधारहीन आरोप“ लगाएको भन्दै सेनाले उनलाई चेतावनी दिएको थियो।

सरकारमाथि आरोप
इमरान खानले विगतका असफल प्रयासपछि पनि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको र पाकिस्तानमा “जङ्गली राज“ आरोप लगाउँदै आएका थिए।

“म आफ्नो रात हिरासतमा बिताउन गइरहेको कुराका लागि मानसिक रूपमा तयार छु,“ गत मार्च महिनामा उनले भनेका थिए, “कति रात भन्ने थाहा छैन तर म त्यसका लागि तयार छु।“

उनले अधिकारीहरूले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको दाबी गरेका छन्।
“म जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्ने छैनन्।“

मार्चमा पाकिस्तानका एक वरिष्ठ अधिकारीले खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको बताएका थिए। लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उनको भनाइ थियो।

अदालतले खानलाई पक्राउ गर्न आदेश दिएपछि सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको थियो। खानका समर्थक र सुरक्षा फौजबीच उनको निवासनजिकै झडपहरू पनि भएका थिए।

पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोप खानमाथि छ। तर उनले त्यस्तो आरोप र मुद्दा राजनीतिक मनसायले प्रेरित रहेको दाबी गर्दै आएका छन्। बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्