प्रधानमन्त्रीको निर्देशनमा नै सीमामा अलपत्र नेपालीहरुले दुख भोग्नु परेको छाया गृहमन्त्री बडूको आरोप

FILE PHOTO

काठमाडौ – दार्चुलाबाट संघीय संसदको (समानुपातिक) प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद दिलेन्द्र बडूले प्रधानमन्त्रीको निर्देशनमा नै सीमामा अलपत्र नेपाली नागरिकहरुले दुख भोग्नु परेको आरोप लगाएका छन् ।

भारतले उनीहरुलाई नाकामा छोडिसकेपछि नेपाल प्रवेशमा रोक लगाउनु सरकारको गैरजिम्मेवारीपन भएको बडूको आरोप छ ।

उनले भने, ‘भारतबाट आएका केहीलाई पहिले हामीले प्रवेश गर्न दियौँ । त्यही भएर भारतीय पक्षले जान दिन्छ भनेर आउन दियो । दुई मुलुकबीच समन्वय गरिएको देखिएन । नेपालीहरु नाकामा अलपत्र पर्ने अवस्था सिर्जना हुन सरकारको गैरजिम्मेवारीपन हो । नदीमा हाम फालेर आउने अवस्था राम्रो भएन । सबैको अभिलेख राखेर सम्बन्धित स्थानीय तहलाई जिम्मा ल्याउनतिर लागौँ भनेर सरकारलाई भनिरहेको छु ।’

उनीहरुलाई यसरी अलपत्र पारिनुले कोरोनाको थप जोखिम बढेको बडूको भनाइ छ । ‘कोही नदीमा पौडेर आइरहेका छन् । कोही तुइनबाट आइरहेको छ । उनीहरुको कुनै अभिलेख छैन । यसले झन् जोखिम बढायो,’ उनले भने, ‘उता स्वास्थ्यका हिसाबले उनीहरुको बसाइ सुरक्षित छैन । सुरक्षित बाटोबाट उनीहरु नेपाल प्रवेश गर्ने वातावरण तयार गर्नुपर्छ । त्यसका लागि हामी सहयोग गर्न तयार छौँ ।’

प्रहरीले अमानवीय व्यवहार देखाएको छाया गृहमन्त्री बडूले बताए । ‘नदीमा पौडिएर आएकालाई प्रहरीले जुन तरिकाले नियन्त्रणमा लिएको छ । त्यो अमानवीय भएको छ । यो मानवीय अधिकारका हिसाबले पनि गैरकानुनी भएको छ । सरकारका कारणले उनीहरु नदीमा हामफाल्न माध्य भएका थिए । उनीहरुलाई जेलमा हाल्ने ?,’ उनले भने ।

केन्द्रको निर्णय मात्र लागू गर्दा त्यहाँको वस्तुस्थितिबारे पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । बडूले भने, ‘केन्द्रले गरेको निर्णय र कानुनमात्र लागू हुँदैन । त्यहाँको स्थिति के छ ? त्यो अनुसारको व्यवहार देखाउनुपर्छ ।’

भारतीय पक्षले उनीहरुलाई लकडाउनको अवस्थामा यहाँ राखिदिन्छु भने भनेको छैन । त्यसैले पनि धार्चुलामा रहेकाहरु नदीमा हामफालेर पौडिँदै लुकिछिपी नेपाल प्रवेश गर्न क्रम रोकिएको छैन ।

रातोपाटीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्