सीमामा अलपत्र नागरिकलाई नेपाल भित्र्याउनु पर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौ – लकडाउनले सीमा बन्द गरिँदा भारतबाट नेपाल फर्किने सयौं नागरिक सीमामा अलपत्र परेको र उनीहरुलाई नेपाल प्रवेश गर्न दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
बुधबार अधिवक्ताहरु रामदत्त ओझा, मनिराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय र उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा महाकालीक्षेत्रमा रोकिएका नेपालीलाई नेपाल प्रवेश गर्न दिन अन्तरिम आदेश माग गरिएको छ ।

साथै उनीहरुलाई नेपाल ल्याई कोरोनाको परीक्षण गर्ने, आइसोलेसनमा राख्ने वा क्वारेन्टाइनमा राख्ने एवं कसैलाई संक्रमण भएको पाइएमा उचित उपचार समेत गराउन माग गरिएको छ ।

सरकारले उचित कदम नचाले सीमापारि रहेकाहरू जोखिमपूर्ण तरिकाले नेपाल प्रवेश गर्ने सम्भावना रहेको र त्यसले झन् भयावह स्थिति निम्त्याउने रिटमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्