ओम्नी समूहसँग भएको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द, पाँच करोड धरौटी समेत जफत

काठमाडौँ – स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ ।

बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय भएको जानकारी दिए । विभागले उक्त समूहसँग चीनबाट स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो ।

सामग्री बजार मूल्यभन्दा निकै महंगोमा खरिद गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

उक्त समूहले केही सामान आइतबार बिहान चीनबाट काठमाडौ ल्याएको थियो । महानिर्देशक श्रेष्ठले ओम्नी समूहले सम्झौताअनुसारको स्वास्थ्य सामग्री ल्याउन नसकेपछि सम्झौता रद्द गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार ओम्नीले पहिलो चरणमा ल्याउनु पर्ने सामग्रीमध्ये जम्मा १० प्रतिशतमात्र ल्याएको छ । उनले बाँकी सामान पनि भोलि ल्याइसक्नुपर्ने भन्दै अब त्यो सम्भावना नरहेको बताए । साथै उनले उक्त समूहलाई कालो सूचीमा राख्न सरकारले पहल गर्ने पनि जनाए ।

विभागले उक्त समूहले धरौटी राखेको पाँच करोड रुपैयाँ पनि जफत गरिएको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सरकारले अब स्वास्थ्य सामग्री ल्याउन नयाँ सम्झौताको प्रक्रिया सुरू गर्नेछ ।

‘पूरानो टेन्डर हालेकाहरूलाई भोलि बोलाउँछौं । कति उनीहरूले दिन सक्छ भनेर सोध्छौं र फेरि अर्को सम्झौता गर्छौं,’ उनले भने ।

विभागले ओम्नीसँग एक अर्ब ३४ करोड रुपैयाँको ठेक्का गरेको थियो । उसले २१ करोडको सामान ल्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्