दार्चुलाको पारशिला मन्दिरको चिनारी

मानसिंह धामी
दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका हुनैनाथ वडा नम्बर – ४ औल्लेक गाउँको सिरानमा अवस्थित आराध्यदेव हुनैनाथ मन्दिर भन्दा करीब १ किलोमिटर तल पश्चिमतिर पारशिला मन्दिर रहेको छ । पारशिला मन्दिरकै नामबाट पारशिला गाउँ पनि भन्न सकिन्छ । पारशिलाको पश्चिम र उत्तरतिर रानीपातल रहेको छ । रानीपातलमा विभिन्न प्रजातिका वनस्पति र जंगली जनावर र चराचुरुङ्गीहरू पाइन्छन् । प्राचीन कालमा यस ठाउँमा हुनैनाथको ज्योतिर्लिङ्ग (शिला) अलौकिक शक्तिपुञ्ज भएका कारण भक्तजनहरूलाई मनोवाञ्छित फल प्राप्तहुने, हार गुहार सुन्ने, उचित न्याय सम्पादन गर्ने, भक्तजनहरूलाई बरदान दिने र आपत विपतमा परेका व्यक्तिलाई बचाउने लिङ्ग भएकोले उक्त स्थानको नाम पारशिला रहेको हो । पारशिला पार र शिला शब्द मिलेर बनेको हो । जहाँ पार भनेको सबैको मनोकांक्षा पूरा हुने र शिला भनेको ज्योतिर्लिङ्ग भन्ने हुन्छ । पारशिलाको शाब्दिक अर्थ सबैको मनोकांक्षा पुरागर्ने लिङ्ग भन्ने बुझिन्छ ।

पारशिलामा अवस्थित उक्त अद्भूत शिलाको अपार शिलाको नामले पनि आराधना गरिन्छ । प्राचीन कालमा पारशिला मन्दिर क्षेत्र वरपर मल्ल राठीको मानवबस्ती बढ्दै गएपछि उनीहरू आफूलाई सर्बशक्तिमान सम्झी अन्य जातिका मानिसहरूसंग जाइलाग्ने, स्त्री लम्पट, अन्याय, अत्याचार र दुष्कर्म गर्न थाले । एक दिन भक्तजनहरूले शिलाको पुजागर्न जाँदा शिला नभेटिएपछि भक्तजनहरू अचम्मित भएर आसपासको क्षेत्रमा लिङ्गको खोजी गर्न थाले । त्यसै दिनदेखी मल्लहरूको बस्तीमा विभिन्न बेथितीहरू हुन थाले । उनीहरूका आइमाईहरूबाट अस्वभाविक बच्चाहरू जन्मिने, गर्भ तुहिने, मानिसहरूमा अशान्तिको वातावरण तथा गाईवस्तुहरू रुखमा समेत चढ्न थाले । यस्तो कुलक्षण देखिन थालेपछि सबै भक्तजनहरू समस्याबाट उन्मुक्तिकोलागि स–भक्तिपूर्वक हुनैनाथको आराधना बन्दना गर्न थाले ।

जय बोल जय बोल, जय जय जय बोल हुनैनाथ स्वामीको !
चरण स्पर्श ध्यान गरौं, फूल समाई जय बोलौं !!
एक दिनमा, एक छिनमा !
हर घडीमा, हर क्षणमा हो ! क्षण क्षणमा हो !!
धूप दीप बाली, आरती उतारी !
हर घडीमा, हर क्षणमा हो ! क्षण क्षणमा हो !!
मन्दिर गई ढोका उघारी !!
स्वामीको दर्शन गरि, फूल अक्षताले पुजन गरी !!
जय बोलो, जय जय गरी !
हर घडीमा, हर क्षणमा हो ! हर क्षणमा हो !!
जय बोलो भागाश्री , जय बोलो द्यौपारानी !
जय बोलो जय बोलो, जय जय जय बोलो !!
निर्धनीलाई धन दिने, जय हुनैनाथ !
अपुतलाई पुतदिने , जय हुनैनाथ !!
रोगव्याधी विनास गर्ने, दुःख कष्ट दूर गर्ने !!
जय हुनैनाथ, जय जय जय …
हुनैनाथ स्वामीले हामी सबैको कल्याण गरून् ।

स–भक्तिपूर्वक सबैले हुनैनाथको बन्दना गर्दैगर्दा आकाशवाणी भएछ । “तिमी ताकला, डाङरहरूले मेरो बासस्थान वरपर दुष्कर्म गरेर दूषित वातावरण गरेर मलाई अपवित्र बनाउने चेष्टा गर्याै । यो ठाउँमा बस्दा मैले हलियाको हाँक र मरेको डाड सुन्नु परेको छ । नराम्रा कर्महरूमा दृष्टि पुग्न गएको छ । त्यसैले मेरो शिला लुप्त भएको हो । हे भक्तजनहरू म माथि आस्था राख्छौ भने यो ठाउँको अलि माथि पूर्वपट्टी डाँडामा वृक्षको मुनि बिरालो कराउँदै बसेको हुनेछ । उक्त बिरालो भएको ठाउँमा वृक्षमुनि दियो बलेको हुनेछ । सबै भक्तहरू यो ठाउँमा आई आज देखि मेरो नामले पुजाआजा गरेमा मनोकामना पूर्ण हुनेछ र पारशिलामा पनि मेरो नामले पुजापाठ गर्दै रहनू“ । त्यस पछि आकाशवाणी बन्द हुन्छ । सबै जना उक्त ठाउँमा गएर हेर्दा बिरालो कराई रहेको र धपधपी दियो बलिरहेको देखेछन् । सबैले भक्तिभावपूर्वक स्तुति बन्दना सहित पुजापाठ गरेछन र सोही दिनदेखि आराध्यदेव हुनैनाथको सोही ठाउँमा पुजापाठ गर्न थालिएको हो । कालान्तरमा उक्त ठाउँमा स्थानीयहरूले मन्दिर समेत निर्माण गरेर हालसम्म पुजापाठ गरिंदै आएको छ । पारशिला मन्दिरको अर्काे पनि चमत्कारिक रहस्य रहेको छ । समल देशबाट समलघाँट उडेर पारशिलामा नै अवतरण भएको थियो । हाल पारशिलाको यो ठाउँमा हुनैनाथको भणारी घर (देवताको सरसामानहरू राख्ने घर) रहेको छ ।

हुनैनाथको भणारी घरमा भक्तिभाव पूर्वक चडाइएका सामानहरू नै मन्दिरका गहना हुन । यी सामानहरूमा विभिन्न मुर्तिहरू, दमाहा, झ्याली, भोकर, विगुल, घण्ट, त्रिशूल, मयुर पंखी, चौरीगाईको पूछ, डोली, तापदानी, छात, छडी, नरसिंह बाजा, गडुवा, पानस, पगरी, भाला, शंख, तामाको गाग्री, कुणेलो, आदि रहेका छन् । देवकार्य सम्बन्धी छलफलगर्ने पवित्र स्थलको रुपमा पारशिला रहेको छ । हुनैनाथको मूल मन्दिरमा उपहार सहित पुजापाठ गर्नेहरू पारशिलाको दर्शन गरि मूल मन्दिरमा जाने गर्दछन् ।
यसै सन्दर्भमा आराध्यदेव हुनैनाथको चमत्कारिक महिमाको बारेमा वर्णन गर्नु पर्दा हुनैनाथको भक्तिगाथा, झोडो, सगुन, फाग आदिबाट मैले सुनेका, जनश्रुति, विभिन्न पुस्तकहरूको अध्ययनबाट जानकारीमा आएका हुनैनाथका थुप्रै चमत्कारहरू छन् । तर ती चमत्कारहरूको बारेमा मैले यस लेखमा समेट्न खोज्दा कतै पाठकहरूले मलाई हुनैनाथको बढाई चढाई गरेको आरोप पनि लगाउने हुन कि भन्ने संकोचले ती चमत्कारिक घटना परिघटनाहरू पाठकहरूलाई जिज्ञासा भएमा यस पछिको लेखमा उल्लेख गर्ने नै छु । जे होस हुनैनाथको संरक्षणमा हंशराज भट्ट बाहेक बिरालोलाई पनि हुनैनाथको अवतारको रुपमा रहेको देखिन्छ । “अहिले पनि औल्लेकीको बिल्लो, पत्यालको गुनो“ भन्ने गर्दछन् । पारशिलाको परिदृश्य चित्रण गर्दैगर्दा समलघाँट प्रसंगलाई यस लेखमा समावेशगर्नु सान्दर्भिक ठानेको छु ।

समलघाँट प्रसङ्ग:

यस लेखमा आराध्यदेव श्री हुनैनाथ स्वामीबाट भए गरेका केही चमत्कारीक महिमाहरू पनि उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । हुन्शिकरको चमत्कारीक महिमाहरू मध्ये यो लेखमा समलघाँट प्रसङ्गलाई जोड्न गइरहेको छु । प्राचीन कालमा औल्लेकमा हुन्शिकरको अवतार भई मूल मन्दिर समेत निर्माण भै यहाँका जनमानसमा हुन्शिकर प्रतिको श्रद्धा, भक्ति र विश्वासले गर्दा भक्तजनबाट देव पुजन गर्ने र मनोवाञ्छित फल प्राप्तहुने जनविश्वास रहेको थियो र अहिले पनि सो विश्वास कायमै रहेको छ । प्राचीन कालमा औल्लेकी हंशराज भट्टका छोराहरू र अन्य छिमेकीहरू हाम्रो मित्र राष्ट्र भारतको अल्मोडा बजार गई घरको लागि चाहिने अत्यावश्यकीय सरसामानहरू (लत्ता कपडा, नून, भाँडाकुँडा आदि) ल्याउने गर्दथे र आफू संग भएको भटमास, घिउ, गुड लगायतका सामानहरूको बिक्री पनि गर्दथे । त्यस बेला अल्मोडालाई समल देश पनि भनिन्थ्यो । औल्लेकीहरूले आवश्यकीय सामनहरूको किनवेच गरेर घर फर्कने बेलामा आफ्नो ईष्टदेव हुन्शिकर देवतालाई उपहार स्वरुप घण्ट चढाउने भक्तिभाव जागेछ । घण्ट खरिद गर्न विभिन्न पसलहरू चहारेर बल्लतल्ल एउटा पसलमा हुन्शिकर देवतालाई चढाउन सुहाउनेखालको एउटा घण्ट फेला पारेछन् । पसलेसंग घण्टको मोलमोलाई भएपछि उक्त घण्टको लागि आवश्यक रकम नपुग भएछ । औल्लेकीहरूले यो घण्ट हाम्रो देवतालाई सुहाउने खालको छ, सकिन्छ भने नपुग रकम हामी दोस्रो पटक आउँदा चुक्ता गरौंला, घण्ट दिनुहोस । सकिँदैन भने अर्काे पटक आउँदा लगौंला यसलाई अरुलाई नबेच्नु होला भनेर पसलेलाई अनुरोध गर्दा पसलेले रिसाएर देवताको धाक फुर्ति किन लगाउनु हुन्छ ? तपाईको देवताको लागि सुहाउने घण्ट हो भने या त घण्टको पुरै पैंसा चुक्ता गर। हैन भने तपाईको देवतालाई साँच्चिकै सुहाउने र तपाईको देवता साँच्चिकै शक्तिशाली छ भने देव शक्तिले आफै लगोस । अन्यथा कुनै उपाय छैन, उधारो दिन सकिँदैन भनेछन् । पसलेले यति कुरा भन्दै गर्दा साँच्चिकै उक्त घण्ट जमिनबाट उठेर घन्घनी बज्दै आकास मार्ग हुँदै उडेर पूव दिशातिर लागेछ । यस्तो अचम्मित चामत्कारिक दृश्य देखेर सबै जना छक्क परेछन् । सबैले हुनैनाथको स्तुति वन्दना गरेछन् ।
हुनैनाथको स्तुति !!!

पवित्र नाथ । प्रभु हुनैनाथ ।।
रानीवन छ मुन्तिर माथि मन्दिर ।।
काखमा छन् नरनारी हरे, मन्दिर छ टाकुरीमा ।
पथमा लाउँछौ भक्तलाई, समाई पाखुरीमा ।।
फुट्लिङ्ग हुन थापना होइन, मन्दिर हुनैनाथमा ।
पूर्णिमाको जून जस्तै मुकुट छ माथमा ।।
महिमा तिम्रो अपरम्पार, कोटी कोटी नमस्कार ।
हाम्रो इज्जत राखीदियौ, शक्ति भो साकार ।।

तत्पश्चात उक्त घण्ट आकास मार्ग हुँदै बज्दै केही समय पछि औल्लेक गाउँको पारशिलामा अवतरण भएछ । उक्त चमत्कारी घाँट औल्लेकीहरूले देखेपछि सबै जना भेलाभइ उक्त घाँटको दर्शन गरि विभिन्न शंका उपशंका अडकलबाजी गर्न थालेछन् । केही दिन पछि समल देशबाट सामान किनेर औल्लेकी घर फर्केर सबै बृत्तान्त बताए पछि सबै नरनारीहरू नतमस्तक भइ आराध्यदेव हुनैनाथको जय जय कारगर्दै उनको महिमाको प्रशंसा गर्न थाले । समलदेशबाट उडेर बज्दै आएको उक्त घाँटलाई हाल सम्म पनि समलघाँट भनेर पुकारिन्छ । यो चमत्कारी अद्भूत शक्ति भएको घाँट (घण्ट) मन्दिरको गव्यूरभित्र सुरक्षित रहेको छ । चमत्कारी शक्ति भएकै कारण सबैको लागि दर्शन गर्न खुला नराखिए पनि चोखो भोको भइ उपवास बसेर शुद्ध तनमनले भेटी चढाएर दर्शन गर्न सकिने प्रचलन रहि आएको छ ।
यो लेख तयार पार्ने क्रममा मैले धेरै खोज अनुसन्धान र अध्ययन गरे भन्दा त पाठकलाई बढप्पन गरेको अनुभूति हुन सक्छ । तर सकेसम्म विभिन्न पुस्तकहरू, गुगल, यु ट्युव, इतिहासका जानकारहरू आदि संग सम्पर्क गरेर यो लेख लेखेको व्यहोरा अनुरोध गर्न चान्छु । पाठकज्यूहरूलाई थप जनाकारी भएमा उपलब्ध गराई सहयोग गरीदिन हुन विनम्र अनुरोध गर्न चाहन्छु ।
धन्यवाद !!!
क्रमश: …
मानसिंह धामी
मालिकार्जुन गाउँपालिका
हुनैनाथ – ४ गोठ्युडी (भौनबाटा)
दार्चुला
स्रोत :
धामी, राजेन्द्र र दामोदर (२०७८), आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली । गोकुलेश्वर दार्चुला ।
पाण्डेय,बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास । भारत
पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको ईतिहास । महेन्द्रनगर ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्