१ महिनाको शुल्क छाड्न प्याब्सनले गर्यो आनाकानी, सरकारसमक्ष राखे यस्ता सर्त

काठमाडौं – निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो ।

निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताएकोे छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बैंकबाट ऋण लिएका विद्यालयहरूलाई एक महिनाको बैंक ब्याज मिनाहाको व्यवस्था गर्नुपर्ने बताए ।

जग्गा र भवन भाडामा लिएका विद्यालयहरूलाई एक महिनाको भाडा नलाग्ने व्यवस्था सरकारले मिलाउनुपर्ने अध्यक्ष पुरीको माग छ । सरकारले भने असंगठित क्षेत्रका श्रमिकहरूसँग एक महिनाको घर भाडामा नलिन घरधनीहरूलाई आग्रह गरेको छ ।

प्याब्सन अध्यक्ष पुरीले यस विषयमा लकडाउन खुलेपछि सरोकारवाला सबैसँग पर्याप्त छलफल गर्ने जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्