कांग्रेसले उम्मेदवारी दर्ताकै दिन राष्ट्रपति उम्मेदवार तय गर्ने

काठमाडौं – नेपाली कांग्रेसले दलहरूसँग छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने भएको छ। कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन शनिबार मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने गरी तयारी गरिरहेको हो।

राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भन्नेबारे केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल गरी निर्णय लिइने नेताहरूले बताएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रपति उम्मेदवार हुन खोजेका छन्। यी दुईमध्ये एक जनालाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ। एक पदाधिकारीले दिएको जानकारीअनुसार शुक्रबार चुनावका बेलाका गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेपछि मात्रै पार्टीले राष्ट्रपति उम्मेदवार तय गर्नेछ।

‘हामीले चुनावका बेलाका गठबन्धनमा रहेका दलहरूसँग छलफल गर्छौं। त्यसपछि मात्रै पार्टीको बैठक बसेर राष्ट्रपति उम्मेदवार तय गरिन्छ,’ ती पदाधिकारीले भने, ‘केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार बिहान ८:३० बजे सानेपामा बस्छ।’

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय यसअघि नै गरिसकेको थियो। यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ। त्यसका लागि शनिबार (फागुन १३ गते) मनोनयन दर्ताको तालिका छ। कांग्रेसले नेकपा माओवादीसहित पुरानो गठबन्धनलाई ब्युँताएर राष्ट्रपति लिन खोजिरहेको छ। दलहरूसँग सहमति गरेपछि मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने तयारीमा कांग्रेस छ।

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न पार्टीका शीर्ष नेताहरूसँग पनि बारम्बार भेटवार्ता गर्दै संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्