सरकार गठनका लागि बालुवाटारमा देउवा र दाहालबीच छलफल

काठमाडौं – सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँटबारे छलफल सुरु भएको हो ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार शुक्रबार साँझ साढे ५ बजेबाट दुवै नेताबीच छलफल भइरहेको छ । दुई जनाबीच छलफल सकिएपछि उक्त छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी हुनुहुने छ ।

प्रतिनिधिसभाको तेस्रो दल बनेको माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी गरिरहनु भएको छ । कांग्रेसले भने पहिलो पालोमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने दाबी गरिरहेको छ ।

यसअघि बिहीबार साँझ कांग्रेस, माओवादी र नेकपा एसका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफल बिना निष्कर्ष टुंगिएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेसले सरकार चलाइसकेकाले अब आफूले पालो पाउनु पर्ने अडान राखेपछि छलफल निष्कर्षमा नपुगेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते आइतबार ५ बजेसम्म सरकारमा दाबी गर्न दलहरूलाई आह्वान गरेकी छिन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दलहरूलाई दिएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्