साढे ५ लाख क्वारेनटाइन निर्माण गर्ने सरकारको तयारी, गाउँपालिकाले ५०० क्वारेनटाइन अनिवार्य बनाउनुपर्ने

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशभर करिब साढे ५ लाख शय्याका सार्वजनिक क्वारेन्टाइन निर्माण गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा रहेको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले आइतबार संघ, प्रदेश र स्थानीयले अनिवार्य रूपमा क्वारेन्टाइन निर्माण गर्नुपर्ने प्रस्ताव तयार पारेको हो ।

उपत्यकामा संघीय सरकारले कम्तीमा ५ हजार, प्रत्येक प्रदेश र महानगरपालिकाले २÷२ हजार, उपमहानगरपालिकाले १÷१ हजार, नगरपालिका र गाउँपालिकाले ५ सयदेखि १ हजार शय्याका क्वारेन्टाइन निर्माण गर्नुपर्ने कार्यदलको प्रस्ताव छ । कतिपय क्वारेन्टाइनलाई आवश्यक पर्दा अस्पतालका रूपमा समेत प्रयोग गर्न मिल्ने गरी संरचना बनाउनुपर्नेछ ।

कार्यदलले काठमाडौंको इचंगुनारायण र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरमा क्वारेन्टाइन निर्माण गर्न सकिने भन्दै त्यसको क्षमता र खाका पेस गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निर्देशन दिएको छ । त्यस्तै काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल र रंगशाला परिसरमा पनि क्वारेन्टाइन बनाउन लागिएको छ । यसका लागि ती स्थानको क्षमता के–कति छ भन्ने खाका पेस गर्न राष्ट्रिय खेलकुद परिषद्लाई भनिएको छ । प्याब्सन, एनप्याब्सन र हिसानका पदाधिकारीलाई पनि विभिन्न शैक्षिक संघसंस्था र होस्टलमा कम्तीमा दुई हजार शय्याका क्वारेन्टाइन निर्माणको खाका पेस गर्न निर्देशन दिइएको छ ।

क्वारेन्टाइन निर्माणका लागि गृह मन्त्रालयका सहसचिव नारायण शर्मा दुवाडीको संयोजकत्वमा गठित समितिले मापदण्डको खाका तयार पारेको छ । क्वारेन्टाइन स्थल निर्माणसम्बन्धी मापदण्डको मस्यौदा समितिले आइतबार साँझ गृह मन्त्रालयमा बुझाएको छ । सरकारी, गैरसरकारी, निजी र व्यक्तिगत स्वामित्वमा भएका भौतिक संरचना र स्थलमा सार्वजनिक क्वारेन्टाइन निर्माण गर्न सकिने मस्यौदामा उल्लेख छ । उक्त मस्यौदा सोमबार बिहान बस्ने कार्यदलको बैठकमा पेस गरिने सहसचिव दुवाडीले कान्तिपुरसँग बताए । ‘त्यसपछि उपयुक्त स्थान छनोट र स्थलगत निरीक्षण गरेर काम अघि बढ्छ,’ उनले भने । बैठकमा अर्थ, गृह र सहरी विकास मन्त्रालय तथा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी हुने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्