‘छोरीले जन्माएका आमाहरू’ कृति आज लोकार्पण हुदैँ

काठमाडौं – ‘छोरीले जन्माएका आमाहरू’ कृति आज लोकार्पण हुने भएको छ । नयाँ पहिचान सहित पाठकवर्गहरुलाई नयाँ स्वाद दिने उद्देश्यले उक्त कृतिको रचना गरिएको हो । उक्त  नेपाली पुस्तक बजारमा उपलब्ध हुनेछ । यस पुस्तकमा नेपालबाहिर हाल विभिन्न अमेरिकी राज्यहरूमा बसोबास गरिरहेका बाह्रजना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ ।

सतहमा बाह्रजना आमाको जीवनगाथा भए पनि पुस्तकले उहिले र अहिलेको समय–अन्तरालमा महिलाले भोग्नु परेका, भोगेका र भोगिरहेका विविध सामाजिक–सांस्कृतिक–राजनीतिक–आर्थिक पहलुहरूबारे रोचक ढंगले बोलेको छ । पुस्तकमा आमाहरूको जीवनका विभिन्न पक्षहरूको चर्चा गरिएको छ ।

यसमा ती आमाहरूको व्यक्तिगत जीवनी छ, उहाँहरू बाँचेको समाजको कथा छ, त्यतिबेलाका महिला–पुरुष अवस्थाको चित्रण छ, आमाछोरी सम्बन्धको संस्मरण छ र हजुरआमा–आमा–छोरी–नातिनीहरूको अन्तरपुस्ता नालीबेली पनि छ ।

मञ्जु थापाको परिकल्पना एवं संयोजनमा जयदेव गौतमको सम्पादन रहेको छ ।

यसका साथै, सरल भाषा र रोचक शैलीमा लेखिएका उल्लिखित सत्य–कथाहरू निजी र सार्वजनिक ‘स्पेस’ मा आमाहरूले गर्दै आएका गोचर र अगोचर संघर्ष, श्रम र योगदान देखाउने आँखीझ्याल हुन् । अक्षर क्रियसन्सको प्रकाशनमा रहेको करिब ४५० पृष्ठ लामो यस पुस्तकको मूल्य ६५० रुपैयाँ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्