दार्चुलामा कांग्रेसबाट बडु र एमालेबाट ठगुन्नाबीच प्रतिस्पर्धा हुने निश्चित, यस्तो छ राजनीतिक समिकरण

काठमाडाैं – मंसिर ४ गते हुने निर्वाचनमा दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट दिलेन्द्र प्रसाद बडु र नेकपा एमालेकातर्फबाट गणेशसिँह ठगुन्ना बीच प्रतिस्पर्धा हुने लगभग सुनिश्चित देखिएको छ । बडु हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुनुहुन्छ भने ठगुन्ना पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री थिए । एमालेका तर्फबाट दार्चुलाबाट गणेशसिँह ठगुन्ना प्रतिनिधि सभा सदस्यका लागि एकल सिफारिस भए भने कांग्रेसका तर्फबाट भने बडु सहित धेरै आकांक्षीहरुको नाम सिफारिस भएको छ । एक स्रोतका अनुसार कांग्रेसका तर्फबाट दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका लागि दिलेन्द्र प्रसाद बडु नै चुनावी प्रतिस्पर्धामा जाने निश्चित छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भई दार्चुलाबाट प्रतिनिधिसभा सदस्य रहुनु भएका बडु राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति दृढ़ आस्था राख्दै झन्डै ४ दशक देखि नेपाली राजनीतिमा सक्रिय रहि उहाँले नेपाली काँग्रेस दार्चुला जिल्ला कार्य समितिको सचिव देखि केन्द्रिय कार्य समिति सदस्य र पार्टीको प्रवक्ताको समेत जिम्मेवारी सम्हालि सक्नुभएको छ।
२०४८ र २०५६ मा सम्पन्न आम निर्वाचनमा दार्चुला जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई विभिन्न मन्त्रालयको जिम्मेवारी समेत प्राप्त गरिसक्नुभएको छ ।

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा दार्चुलाबाट विजयी सुरुवात गरेका गणेशसिँह ठगुन्ना भने पुनः २०७४ सालको संघीय निर्वाचनमा विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता भई नेकपाको तर्फबाट निर्वाचनमा गई ठगुन्ना २८ हजार ९९८ मत सहित विजयी भएका थिए । उहाँका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तर्फबाट विक्रमसिँह धामीले २२ हजार २३३ मत ल्याएका थिए । तर बडु भने समानुपातिकमा थिए ।
२०६४ सालको संविधान सभा निर्वाचनमा भने बडु र ठगुन्ना दुबै पराजित भएका थिए । उक्त निर्वाचनमा माओवादीका तर्फबाट लक्ष्मीदत्त जोशी निर्वाचित भएका थिए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा दुबै उम्मेद्वार बीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धन कायम रह्यो भने बडुको सम्भावना उच्च रहेको छ । उता ठगुन्ना भने गठबन्धन कायम रहेपनि आफु ५ हजार बढी मतान्तरले जित्ने ठोकुवा गरिरहेको अवस्था छ । स्थानीय तहको निर्वाचन २०७९ लाई हेर्ने हो भने दार्चुलामा नेकपा एमालेको सम्भावना बढी देखिन्छ । स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेसबीच गठबन्धन भएपनि एमालेले अग्रता लिएको थियो ।

स्थानीय तहको निर्वाचनमा प्रमुखको मतलाई मात्र नियाल्ने हो भने शैल्यशिखर नगरपालिकामा एमालेले ५५०९ र गठबन्धनले ४६६२ मत ल्याएको थियो । यस्तै महाकाली नगरपालिकामा एमालेले ५००३ र गठबन्धनले ३८८७ मत ल्याएको थियो भने मालिकार्जुन गाउँपालिकामा एमालेले ४०३४ र गठबन्धनले ३३२२ मत ल्याएको थियो । त्यसैगरी नौगाड गाउँपालिकामा एमालेले ३२७७ मत ल्याएको थियो भने गठबन्धनले ३७८३ मत ल्याएको थियो र लेकम गाउँपालिकामा गठबन्धनले २९७६ र एमालेले २४४५ मत ल्याएको थियो । यस्तै दुँहुँ गाउँपालिकामा गठबन्धनले २७९६ मत ल्याएको थियो भने एमालेले २८८६ मत प्राप्त गरेको हो । उता व्याँस गाउँपालिकामा गठबन्धनले २३९६ र एमालेले २९४९ मत ल्याएका थिए भने मार्मा गाउँपालिकामा गठबन्धनले ३६१६ र एमालेले २९१४ मत ल्याएका थिए । त्यसैगरी अपिहिमाल गाउँपालिकामा भने गठबन्धनले २३१२ र एमालेले १३८५ मत ल्याएको थियो ।

गठबन्धन कायम रहदा पनि गठबन्धनले २९ हजार ७ सय ५० मत प्राप्त गरे भने एमालेले ३० हजार ४०२ मत प्राप्त भएका थिए । गठबन्धन कायम रहदा समेत चर्काे प्रतिस्पर्धा हुने देखिन्छ । उता बडुले भने मन्त्री पद सम्हालेदेखि उद्योग क्षेत्र लगायत समग्र दार्चुलाको विकासलागि धेरैजसो काम गरेकोले मत थप हुने कांग्रेस निकटका कार्यकर्ताहरुको भनाई छ ।

स्थानीय निर्वाचनमा उपप्रमुखको मतलाई नियाल्ने हो भने ९ वटै पालिकामा गठबन्धनको तर्फबाट २९ हजार ३०२ र एमालेको तर्फबाट २८ हजार ६१४ मत खसेको छ । प्रमुखको मतले एमाले अग्र स्थानमा भएपनि उपप्रमुखको मतले गठबन्धन अगाडि देखिएको छ । यी मतको आधारले समिकरण गर्ने हो भने दुबै उम्मेद्वारबीच चर्काे प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपी गठबन्धन कायम रहि एक्यबद्धता भई चुनावी मैदानमा गयो भने काङ्ग्रेसका तर्फबाट बडुको जीत सुनिश्चित हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्