साफ यू–१७ : भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता बन्याे

काठमाडौँ –  १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई तीन–एक गाेलले हरायाे ।

नेपालकाे जितमा सराेज दर्लामी, उनेश बुढाथाेकी र सुवास बमले एक–एक गाेल गरे । भारतका लागि ड्यानी मेतीले गाेल गरे । एक–शून्यले पछि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे ।

याे जितसँगै समूह ‘बी’ मा नेपाल दुई खेलमा ६ अङ्कसहित समूह विजेता बनेकाे छ भने भारत दुई खेलमा तीन अङ्क जाेडर उपविजेता बनेकाे छ । दुवै टाेली सेमिफाइनल प्रवेश गरेका छन् । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई दुई-एक गोलले हराएको थियो । भारतले पनि भुटानलाई तीन-शून्य गाेलले हराएको थियो । दुवै खेल हारेकाे भुटान भने प्रतियाेगिताबाट बाहिर भइसकेकाे छ ।

यस्तै आजै हुने दोस्रो खेलमा बेलुका श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । अब नेपालले सेमिफाइनलमा आउँदाे साेमवार श्रीलङ्का वा माल्दिभ्सबीचकाे खेलकाे विजेतासँग खेल्नेछ । भारतले भने सेमिफाइनलमा सोमवार नै समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्नेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्