कोरोनाको सङ्क्रमणबाट चीनपछि इटलीमा धेरैकाे ज्यान गयाे, १ हजार ४ सय ४१ काे मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट चीनपछि इटलीमा सबैभन्दा धेरै जनाको ज्यान गएको छ ।

इटलीका अधिकारीहरुका अनुसार अहिलेसम्म भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ४१ पुगेको छ । त्यस्तै २१ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण पाइएको छ ।

सिभिल प्रोटेक्शन डिपार्टमेन्टका अनुसार इटलीमा पछिल्ला दिनमा कोरोनाको सङ्क्रमणमा वृद्धि भएको छ । त्यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ ।

सङ्क्रमितमध्ये झण्डै दुई हजार जना उपचारपछि घर फर्किएका छन् । एक हजार पाँच सय जना भाइरसको सङ्क्रमणबाट गम्भीर छन् ।

इटलीका उपस्वास्थ्य मन्त्री पियरपोलो सिलेरीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको थियो । भाइरसबाट इटलीका अधिकारीहरु पनि सङ्क्रमित भएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिलेसम्म एक सय ५० भन्दा बढी देशमा पुगिसकेको छ । विश्वभरि एक लाख ५९ हजारभन्दा बढीमा सङ्क्रमण पाइएको छ भने झण्डै ७६ हजार जना उपचारपछि घर फर्किएका छन् ।

चीनमा कोरोना भाइरस नियन्त्रणतर्फ जाँदै गर्दा चीनबाहिर फैलिँदै जानु चिन्ताको विषय बनेको छ । सङ्क्रमणबाट बच्न विभिन्न देशले विभिन्न रणनीति अपनाइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्