एउटै गाउँपालिकामा १३ जलविद्युत् आयोजना, काम भने सुस्त

सुशिल सुवेदी, सिन्धुपाल्चाेक

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । तर, ती आयोजनाको काम भने सुस्त गतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन रहेकोे जुगल गाउँपालिकामा केही अवाञ्छित गतिविधिमा संलग्न तत्त्वको अमूर्त मागका कारण विद्युत्का लगानीकर्ता हच्किएका व्यवसायी रेशम स्याङ्बोले बताउनु ुेुभयो । ‘लगानीकर्ताको मनोबल बढाउन सरकारले सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने खाँचो छ,’ उहाँले भन्नुभयो । स्थानीयको अवरोध र राजनीतिक खिचातानीले विद्युत् खरीद सम्झौता (पीपीए) सम्पन्न भइसकेका ती जलविद्युत् आयोजनाको काममा प्रगति हुन नसकेको हो ।

गाउँपालिकाभित्र अपर ब्रह्मायणी १५ मेगावाट, इन्टिग्रेटेड हाइड्रो ३५ मेगावाट, बलेफी हाइड्रोपावर लिमिटेड ४६ मेगावाट, बिजी हाइड्रोपावर प्रालि ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ३६ मेगावाट पीपीए भएर निर्माणको क्रममा छन् । यी आयोजनामध्ये सबैभन्दा बढी काम गरेको अपर बलेफीले ७० प्रतिशत काम सम्पन्न भएको छ ।

त्यसैगरी ग्रीनभेन्चर पावर लिमिटेड २३ दशमलव ५ मेगावाट, मुनलाइट हाइड्रो २२ मेगावाट, याम्बालिङ हाइड्रो ७ दशमलव ८ मेगावाट, घट्टेखोला साना जलविद्युत् आयोजना ९७० किलोवाट, राइजिङ हाइड्रो ९९० किलोवाट, सेवा हाइड्रो प्रालि १ दशमलव ५ मेगावाट, सिन्धुज्वाला हाइड्रोपावर लिमिटेड ६५ मेगावाट र ४३ मेगावाट क्षमताको लोअर नेसम हाइड्रोपावर लिमिटेडले निर्माणको कामलाई सशक्त रूपमा अगाडि बढाउन सकेका छैनन् ।

जुगलकै वडा नं ५ मा युनिक हाइडेल ४ दशमलव २ र ३ दशमलव २ मेगावाट क्षमता भएको गेलुङखोला हाइड्रोपावर प्रालिले उत्पादन शुरू गरेका छन् । ट्रान्समिशन लाइनमा स्थानीयको विरोधले गेलुङखोला हाइड्रोपावरबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोड्न समस्या परेको छ । आयोजनालाई नै प्रभावित पार्ने गरी केही स्थानीयले राजनीतिक पूर्वाग्रहमा विभिन्न माग राख्दै अवरोध गरिरहेको आयोजनाका अध्यक्ष चूर्णप्रसाद श्रेष्ठले बताउनुभयो । ‘अवरोधका कारण प्रसारण लाइनमा विद्युत् जोड्ने कार्य रोकिएको छ,’ उहाँले भन्नुभयो, ‘अवरोध हटाउन स्थानीय सरकारले चासो नदिएका कारण आयोजनाको काम नियमित सञ्चालन हुन नसकेको हो ।’

आयोजना सुस्त हुनुमा स्थानीय र आयोजनाबीच समन्वयको कमी देखिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँनुहँुन्छ । ‘आयोजनालाई निर्बाध सञ्चालन गर्न दिनु स्थानीयको कर्तव्य हो,’ उनले भने, ‘आयोजनाले पनि स्थानीयको मागलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।’ आयोजनाले स्थानीयको मागलाई बेवास्ता गर्ने र स्थानीयले हचुवामा अवरोध गर्ने गरेका कारण जलविद्युत् आयोजनाहरूको निर्माण सुस्त हुन पुगेको उहाँको भनाइ छ । त्यसका लागि पालिकाले समन्वयको पहल शुरू गरेको उहाँले बताउनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्