आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने

वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु–६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने भएको छ । चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट अग्निमन्थन गरी आगो निकालिने छ । महायागमा बाख्राको दूध, नेपालको मौलिक गहुँको सातु, तिल र गाईको घिउ मिश्रण गरी हवन गरिने छ ।

प्रतिआहुतिमा आँकको समिधा पनि हवन गरिने छ । गौशाला, अजा(बाख्रा)शाला, यजमानशाला, पत्नीशाला र हविर्धान मण्डप (हवनीय पदार्थ भण्डार र शोधन गरिने ठाउँ) कैलाशचौरमै स्थापना हुने समितिका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
महारुद्रयाग सम्पन्न गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको अध्यक्षतामा १०८ सदस्यीय आयोजक समिति गठन गरिएको छ । महामारी, उल्कापात एवं विविध दैवीविपत्ति शमन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यस्तो अनुष्ठान गर्न लागिएको आयोजक समितिका उपाध्यक्षसमेत रहनुभएका तिमिल्सिनाले जानकारी दिनु्भयो ।
यजुर्वेदको ‘शतपथ ब्राह्मण’ ग्रन्थमा उल्लेख भएको ‘शतरुद्रियं जुहोति’ र ‘अर्कपर्णेन जुहोति’ शब्दको प्रयोग नै सो महारुद्रयाग हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्