१५ वर्षिय मायालाइ विद्यालय आउजाउमै ६ घण्टा लाग्छ

मेलम्ची नगरपालिका सिटिङकी १० वर्षकी सुनिता तामाङ दिनहु सिटिङबाट तीन घण्टा पैदल हिडेर हेलम्बु गाउँपालिकाको छाजोगाङ गाउ“ आइपुग्छिन् । तलतिर भएको विद्यालयमा ३ कक्षासम्म मात्रै भएकाले त्यसभन्दामाथि पढ्न सर्वोदय माध्यमिक विद्यालय धाउनुपर्छ । ‘बिहान ६ बजे हिड्छु र नौ बजे आइपुग्छु, आउजाउमै ६ घण्टा बित्छ,’ उनले भनिन् । यहाँबाट ४ बजे हिडे ७ बजे पुग्ने घर पुग्ने उनी हिडेर नै बिरामी परिसकेकी छिन् । हेलम्बु छाजोगाङभन्दा माथिल्लो बस्ती चित्रेबाट छाजोगाङसम्म आइपुग्न झण्डै तिन घण्टा लाग्छ । ‘हामीलाई कति धेरै धपेडी हुन्छ, भाइबहिनीहरुलाई झनै कति गाह्रो हुन्छ,’ १५ वर्षिय माया तामाङले भनिन् ।
कक्षा ४ मा पढिरहेका बोल्देका ११ वर्षका पासाङ तामाङले पनि खल्लो अनुभव गरेका छन् । उनले स्कुल टाढा भएको कठिनाइले धेरैले बीचैमा पढाइ छाड्ने गरेको जनाए ।
हेलम्बु गाउँपालिकाको साबिक महाकालमा दुई वटा मात्रै माध्यमिक र केही आधारभुत माध्यमिक विद्यालय भएपनि टाढा छन् । जसमध्ये माध्यमिक तहको वडा ५ मा यही सर्वोदय माध्यमिक विद्यालय मात्रै एउटा हो । त्यसैले हेलम्बुको पारीगाउँ खरबुजे, बोल्दे, पिप्से हँुदै मानेडाँडा, तल्लो सिरिसे गरी २५ बालबालिका यहा पढ्नको लागि घण्टौ हिडेर आउनुपर्ने बाध्यता छ ।
दुई सय १७ जना बालबालिका अध्यापन गराइरहेको सर्वोदयमा कक्षा नौ सम्म मात्रै पढाइ हुने गरेको प्रधानध्यापक भरत कार्कीले बताए । ‘यही दुर्गमताका कारण आवसिय विद्यालय र शैक्षिक कक्षा थपिनुपर्ने माग राख्दै आएका छौ, ’उनले भने । हेलम्बु गाउ“पालिकामा यस समस्याबारे सूचना दिएर छलफलको प्रक्रियामा लागेको उनको कथन छ ।
‘उहाँहरुले दश कक्षा थप्ने र आवाशीय कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भएको छ,’उनले भने । विद्यालयमा शैक्षिक सामाग्रीदेखि खेल मैदान नभएका कारणले समस्या बनिरहेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्