धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट मुत्यु हुनेको संख्या ८ पुग्याे

धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट मुत्यु हुनेको संख्या ८ पुगेको छ । मदिरा सेवनबाट सिकिस्त बिरामी परेका २ जनाको र शुक्रबार मदिरा सेवन गरेका थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयामा विषाक्त मदिरा सेवनबाट सिकिस्त बिरामी भएर जानकी मेडकल कलेज शिक्षण अस्पताल जनकपुरमा उपचार गराइरहेका सत्रुधन मण्डल, धरानमा उपचारको क्रममा ईन्द्रजीत सदाको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको अस्पताल जनाएको छ। शुक्रबार मदिरा सेवन गरेका स्थानीय श्रीदेव भन्ने मोसराम यादवको समेत मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि विषाक्त मदिरा सेवनबाट क्षीरेश्वनाथ नगरपालिका–१ रमदैयाका ३५ वर्षीय ब्रमहेव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी महरा, क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयाका ३६ वर्षीय रामनरायण महरा र भारत घर भइ रमदैया बस्दै आएका ३० वर्षीय राजु महराको मृत्यु भएको थियो।

मदिरा सेवनले सिकिस्त रामेश्वर महराको जानकी मेडिकल शिक्षण अस्पताल जनकपुरमा उपचार भइरहेको छ। बुधबार बिहान १० बजे विषाक्त मदिरा सेवन गर्नेहरुको स्वास्थ्यमा साँझदेखि समस्या आएको थियो। विषाक्त मदिरा सेवनले एउटै बस्तीमा ८जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।

७ जना पक्राउ

विषाक्त मदिरा उत्पादन गरी बेच्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। विषाक्त मदिरा उत्पादन गर्ने महोतरी भंगहा नगरपालिका–३ का ४७ वर्षीय जगतनारायण मण्डल, धनुषा लक्ष्मिनिया गाउँपालिका–६ बगेवाका २४ वर्षीय नवीन यादव र क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका ४५ वर्षीया छठियादेवी मण्डललाई पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। भंगहामा उत्पादन भएको मदिरा नवीनले रमदैयामा ल्याएर छठियालाई बेच्न दिएको कार्कीलेबताए ।

विषाक्त मदिरा उत्पादन र बिक्रीवितरणबारे सोधपुछका लागि रमानन्द साह, धुरण यादव, जगत कुमार यादव र सितलदेवी यादवलाई समेत पक्राउ गरीएको प्रहरीले जनाएको छ।

 

कान्तिपुर अनलाइनबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्