४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको परीक्षण चैत ३ गतेदेखि हुने

File Photo

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण चैत ३ गतेदेखि हुने भएको छ ।

आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडवक्र्सका संरचनाहरुको प्राविधिक परीक्षण चैत ३ गतेदेखि २२ गतेसम्म हुने आयोजनाले जनाएको छ ।

यस अवधिमा आयोजनाको जलाशय तथा बालुवा थिग्राउने पोखरीमा पानी भर्ने काम गर्न लागिएको  छ । यसको लागि नदीको पानी रोक्ने र छोड्ने गरिरहनुपर्ने भएकाले नदी किनारका बासिन्दालाई सुरक्षित रहन आयोजनाले सूचना जारी गरेको छ ।

परिक्षणको लागि कुनै बेला एकैपटक ठूलो मात्रामा पानी छोड्नुपर्ने भएकोले बाँधभन्दा तल्लो तटीय क्षेत्रअन्तर्गत तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिंगटी बजारसम्म तामाकोशी नदीमा पानीको सतह बारम्बार धेरै घटबढ भइरहने आयोजनाले जनाएको छ ।

दोलखाको सिंगटी बजारदेखि सिन्धुलीको खुर्कोटमा पर्ने तामाकोशी र सुनकोशी नदीको दोभानसम्म तामाकोशी नदीको पानीको सतह घटबढ भइरहने भएकोले तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजानेजस्ता काम नगर्न आयोजनाले अनुरोध गरेको छ ।

यससम्बन्धी सूचना तामाकोशी–सुनकोशी दोभानसम्म तामाकोशी नदीले छुने सबै पालिका तथा दोलखा र रामेछाप जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पठाइसकिएको आयोजनाले जनाएको छ  ।

सचेतनाको सूचनालाई अवज्ञा गरी नदी किनारमा गएर कुनै दुघर्टना भएमा आयोजना जिम्मेवार नहुने माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ । यसबारे सूचना लिनुपर्ने भए ०४९ ४१३००३ वा ०४९ ४१३००५ मा सम्पर्क गर्न आयोजनाले अनुरोध गरेको छ ।

उज्यालाे अनलाइनकाे सहयाेगमा 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्