गुडिरहेको बस तथा स्कुटरमाथि रुख ढल्दा दुइ जनाको मृत्यु, दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडाैँ- प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । उनले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएको जनाइएको छ । अर्का सांसद महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा भएको घटनाका घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले पुराना बस हटाउन पनि अनुरोध गरेका छन् ।

बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा खटिएका प्रत्यक्षयदर्शीले बताएका छन् । बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्