नबिल बैंकमा सीईओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार

काठमाडौँ – नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको असार १३ गते सम्पन्न संचालक समितिको बैठकले ढुंगानालाई सीईओ नियुक्त गरेको थियो ।
बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सम्हालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विश्लेषणमा स्नातकोत्तर पुरा गरेका उनी सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा मेनेजर टु वाच र सन् २०१५ मा मेनेजर अफ दि ईयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुंगाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष पनि चयन भएका थिए ।
उनको कुशल र सक्षम नेतृत्वमा संस्थाले थप उचाइ प्राप्त गर्ने आशा बैंकले लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्