कोरोना प्रकोप : संक्रमितको संख्या १ लाख नाघ्यो, अहिलेसम्म ३४९५ को मृत्यु

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । शनिबार बिहानसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या एक लाख २ हजार २ सय २४ पुगेको छ । विश्वका करिब ९७ देशमा यसको संक्रमण फैलिएको छ ।

कोरनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ९५ पुगेको छ । जसमध्ये चीनमा मात्रै ३ हजार ७० को मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार शनिबार बिहानसम्म चीनमा संक्रमितको संख्या ८० हजार ६ सय ५१ पुगेको छ । त्यस्तै ५५ हजार ४ सय ४ जना निको भएका छन् भने ५ हजार ४ सय ८९ जना गम्भीर अवस्थाका बिरामी छन् । चीनमा पछिल्लो समय कोभिड–१९ को संक्रमण घटिरहेको छ । स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार शुक्रबार चीनमा थप ९९ जनामा संक्रमण देखिएको छ । त्यस्तै शुक्रबार २८ जनाको मृत्यु भएको छ ।

चीनमा संक्रमणको दर घट्दै गए पनि इटाली, इरान र दक्षिण कोरियामा भने तीव्र रुपमा बढिरहेको छ । चीनबाहिर सबैभन्दा बढी इटालीमा १९७ जनाको मृत्यु भएको छ । शनिबार बिहानसम्म इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ । त्यस्तै इरानमा १२४ जनाको मृत्यु र ४ हजार ७ सय ४७ मा संक्रमण देखिएको छ ।

चीनपछि सबैभन्दा बढी व्यक्तिमा संक्रमणचाहिँ दक्षिण कोरियामा देखिएको छ । शनिबार बिहानसम्म दक्षिण कोरियामा ६ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ भने ४४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा पनि कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यसमध्ये १४ जनाको मृत्यु वासिङ्टन र एक जनाको क्यालिफोर्निया राज्यमा भएको हो । अमेरिकामा संक्रमितको संख्या ३ सय २१ पुगेको छ ।त्यस्तै जापानमा १२ जनाको मृत्यु र एक हजार एक सय १६ जनामा संक्रमण देखिएको छ ।

कोभिड–१९ को संक्रमणबाट स्पेनमा ८, इराकमा ४, हङकङ र बेलायतमा २–२ तथा थाइल्यान्ड, ताइवान, नेदरल्यान्ड्स, सान मारिनो, फिलिपिन्स र स्विजरल्यान्डमा एक–एक जनाको मृत्यु भएको छ ।

साभार : कान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्