प्रिन्स दाहाल जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा

काठमाडौं – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लगातार तेस्रो जित निकाल्दै प्रिन्स सिरिजको अन्तिम १६ मा पुग्न सफल भएका हुन् ।

बर्लिनमा शुक्रबार भएको पुरुष यु–१९ एकलको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका कियन यु ओइलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएक हुन् । पहिलो सेट ११–२१ ले गुमाएको थियो ।

त्यसपछि प्रिन्सले सानदार प्रदर्शन गर्दै दोस्रो र तेस्रो सेट २१–१७ र २१–५ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको टिम म्यानेजर तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी गराए । प्रिन्सले त्यसअघि अष्ट्रियाका लेनी सुदर्मालाई र घरेलु टोली जर्मनीका बेन्नेट पिटर्सलाई समान २–० को सेटमा पराजित गरेको थियो ।

गत मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को जुनियर वरीयतामा शीर्ष १० मा अटाएका थिए । यसअघि प्रिन्सले नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा दुई खेल जित्दै प्रि–क्वाटरफाइनलसम्म स्थान बनाएको थियो । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसँग पराजित भएका थिए । त्यसपछि उनी जर्मनी प्रस्थान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्