भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक लुम्बिनी आउँदै, उच्च सुरक्षा सतर्कता

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनीमा आउने भएका छन् ।

आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने पक्का भएको हो । यसअघि सन् २०१४ मा पनि मोदी लुम्बिनी आउने कार्यक्रम थियो तर यहाँ नआई मुस्ताङको मुक्तिनाथ पुगेर फर्केका थिए ।

मोदी लुम्बिनी आउने भएपछि लुम्बिनी क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ । मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड ) बुधबार नै लुम्बिनी आइसकेका छन् । उनीहरू भारतीय वायु सेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेका थिए ।

बुधबारदेखि नै लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिसेकेको छ ।

मोदीको स्वागतको लागि लुम्बिनी विकास कोषले पनि तयारी तीव्र बनाएको छ । मायादेवी मन्दिर परिसर रंगरोगन, मोदीलाई लुम्बिनी अवतरणको लागि ४ वटा हेलिप्याडको निर्माण,स्वागतद्वारलगायतका कामहरू अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं २५६६औं बुद्धजयन्ती मूल समारोहका प्रचार संयोजक सिद्धिचरण भट्टराईले बताए ।

मोदी जेठ २ गते बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएको छ । उनी दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने कार्यक्रम छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्