प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण नेपालमै हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण अब नेपालकै अस्पतालमा गरिने भएको छ ।

प्रत्यारोपण गर्ने अस्पतालबारे चर्चा भइरहेका बेला ओलीका चिकित्सकहरु यस्तो निचोडमा पुगेका हुन् । अहिलेको अवस्थामा चिकित्सकहरुले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा गर्ने तयारी थालेको स्रोतले बताएको छ । गत कात्तिकदेखि मिर्गौलाले काम गर्न छोडेपछि ओली अहिले नियमित डायलाइसिसमा छन् । ओलीले पहिलो पटक १२ वर्ष अगाडि भारतमा मिर्गौला प्रत्यारोपण गरेका थिए । प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले लिन छाडेपछि ओलीले कात्तिकदेखि नियमित डायलाइसिस गर्दै आएका छन् ।

प्रधानमन्त्रीको उपचारमा संलग्‍न मेडिकल टिम बुधबार मिर्गौला प्रत्यरोपण गर्ने तयारीमा जुटेका छन् । केही दिनअघि बालुवाटारमा प्रधामन्त्री ओलीको परिवार, पार्टीका केही उच्च नेता र मेडिकल टिमले तयारीबारे बैठकसमेत बसेको स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘ उहाँको स्वास्थ्य यही अवस्थामा नबिग्रिए प्रत्यारोपण गर्ने तयारी भएको छ ।’ दोस्रो पटक प्रत्यारोपण गर्न तयार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस अघि नै दुईजना नातेदारले मिर्गौला दान गर्न तयार भइसकेका छन् । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले लिन छाडेपछि दोस्रो पटक प्रत्यारोपण तयारी गरिएको हो ।

ओलीलाई मिर्गौला दिन नेपालमै रहेकी एकजना भाञ्‍जी नाता पर्ने महिला र अमेरिकामा रहेका भाञ्‍जा नाता पर्ने पुरुष तयार भएका हुन् । चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएका छन् । त्यसपछि दाताको खोजी थालिएको थियो । तर गत मंसिर पहिलो हप्ता एपेन्डिटाइटिसका कारण पेटमा संक्रमणले अपरेसन गर्नुपरेपछि ओलीको मिर्गौला प्रत्यारोपण पर धकेलिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्