‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ पर्यटन आकर्षणको केन्द्रविन्दु बन्ने, धार्मिक पर्यटनमा समेत विशेष जोड

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाको महत्वाकांक्षी योजना ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ निर्माण हुदैछ । ४० लाखको लगानीमा १ सय १० मिटर ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ तयार भएको छ । “कुल ६० किलोमिटरको आयोजना पूरा गर्न करीब रु.३ अर्ब ५० करोड खर्च लाग्छ ।” गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ह्योल्मो परम्पराको धर्मचक्र पर्खाल बमोजिम ट्रेल निर्माण शुरु गरिएको हो ।

अहिले नागीडाँडा, शेर्माथान हुँदै गुरु रिन्पोछे डाँडासम्म ४०० मिटरमा बिसौनी, सिंढी र पेटी बनाउन थालिएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु.५० लाख र सङ्घीय सरकारले रु.१ करोड बजेट विनियोजन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

हेलम्बुको बुद्धपार्कबाट शुरु हुने ट्रेल पूरै निर्माण भएपछि आमायाङ्ग्री (ह्योल्मो परम्परा अनुसार धनकी देवी), भेमेथाङ (गुरु रिन्पोछे तपस्यास्थल), मिलारेपा गुफा, पाल्चोक जयवागीश्वरी मन्दिर लगायत हेलम्बुका दर्जनौं गुम्बा तथा धार्मिकस्थल अवलोकन गर्न सकिन्छ । ट्रेल बनाउन स्थानीय ढुङ्गाको प्रयोग गरिएको छ ।

भित्री भागमा मेशिनले काटेका ढुङ्गा प्रयोग गरिएको छ भने बाहिर राखिएका ढुङ्गा छिनोले कुँदिएको छ । सिंढीमा स्लेट प्रयोग गरिएको छ । ट्रेल बनाउँदा भौगोलिक अवस्था नबिगार्ने र बोटबिरुवा नभएको ठाउँमा वृक्षरोपण पनि गर्ने गाउँपालिकाको योजना छ ।

समुद्री सतहबाट २४०० देखि ५००० मिटर उँचाइसम्म फैलने ट्रेल हिंडेर पूरै छिचोल्न नौ दिन लाग्नेछ । सो अवधिमा तामाङ, ह्योल्मो, गुरुङ लगायत जातजातिको संस्कृति अवलोकन गर्न पाइनेछ । ‘माउन्टेन फ्लाइट’ बाट देखिने मध्य तथा पूर्वी क्षेत्रका हिमालमध्ये ८० प्रतिशत ट्रेलबाट देखिने अध्यक्ष शेर्पाले बताउनुभयो । ट्रेलमै पर्ने पाके डाँडाबाट सगरमाथा समेत देखिन्छ ।

यहाँको जङ्गलमा कालिज, घोरल, लेकाली भेडा, रेड पाण्डा लगायत पशुपक्षी छन् । रेड पाण्डाको वासस्थान भएको लाङटाङ राष्ट्रिय निकुञ्जमा जनावरलाई बाधा नपुग्ने गरी संरचना बनाउन निकुञ्ज प्रशासनसँग समन्वय भइरहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

ट्रेलको सेमिसिधाङबाट गोसाइँकुण्ड मात्र एक किलोमिटरको दूरीमा छ । ट्रेल क्षेत्रभित्रै क्यानोनिङ र पाराग्लाइडिङको संभाव्यता अध्ययन भइसकेको र बञ्जी निर्माण गर्न पुलको डीपीआर पनि बनिसकेको छ ।

काठमाडौं पानी लैजाने मेलम्ची आयोजनाको मुहान अम्बाथान पनि हेलम्बुमै पर्छ । जुन, काठमाडौंको जोरपाटीदेखि साँखुहुँदै ५५ किलोमिटर र सुन्दरीजलहुँदै ५० किलोमिटर टाढा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्