नेकपाकाे सचिवालय बैठक बस्दै

काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ ।

राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक बोलाएको हो । नेकपा अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार, प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ः३० बजेका लागि बैठक तय भएको छ ।

आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने बताइएको छ । नेकपा सचिवालयको अघिल्लो बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

सचिवालयले सर्वसम्मत रूपमा गौतमको नाममा सहमति जुटाए पनि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएका थिए । उनले मनोनयन सिफारिसमा सरकार स्वतन्त्र रहेको भन्दै कार्यवधि सकिन लागेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन् ।

तर, नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले गौतमलाई नै लैजानुपर्ने मत राखेपछि नेकपामा विवाद छ । यहीबीच बस्न लागेको नेकपा सचिवालय बैठकले विवाद समाधानको मध्यमार्गी उपाय खोज्ने अनुमान गरिएको छ ।

बैठकमा पार्टीको आन्तरिक विवादका अलावा समसामयिक राजनीति र सरकारलाई गति दिनेलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्