वैदेशिक रोजगारीले रित्तिँदै छन् गाउँ

आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारिक विचलनले गाउँमा सन्नाटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशील जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले हाम्रो चुलो बलेको छ । यसको एउटा उदाहरणका रुपमा यहाँको एउटा कार्यक्रमलाई लिन सकिन्छ ।

एक साताअघि बागलुङ नगरपालिकाले खहरे आधारभूत स्वास्थ्य सेवा केन्द्रको भव्य उद्घाटन ग¥यो । बागलुङ नगरपालिका–३ र छिमेकी गाउँपालिका काठेखोलाको वडा नं १ का अधिकांश सर्वसाधारणलाई कार्यक्रममा खबर थियो । स्थानीय सरकार गठनपछि घर छेउमा बनेको स्वास्थ्य संस्थाको भवन उद्घाटन समारोह । आफैले जिताएका नगरप्रमुख र वडाध्यक्ष । स्थानीय सरकारका कार्यकारी पदमा रहेका सबै त्यहाँ पुग्दा गाउँमा बस्ने जो कोहीको इच्छा थियो ‘कार्यक्रममा पुगौँ ।’

भयो पनि त्यस्तै । भवन बन्नुअघि विद्यालय र खेल मैदानको जग्गा भनेर विवादित भएको ठाउँमा गाउँका अधिकांश सर्वसाधारण पुगे तर त्यहाँ युवा देखिएनन् । खेल मैदान चाहिन्छ भनेर आवाज उठाउने युवा पनि विदेश पलायन भइसकेका छन् भने केही युवा सहर पसेका छन् । विद्यालय र खेल मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुखले युवालाई त सम्झे तर उनका कुरा सुन्ने वृद्ध, वयस्क र बालबालिका मात्रै थिए । कि त ४० वर्ष उमेर कटेका थिए भने कि वृद्ध र कि त सानो कक्षामा पढ्ने बालबालिका । सरकारी जागीरेबाहेक युवा कार्यक्रममा देखिएनन् ।

देशमा रोजगारीका अवसर कम छन् । स्वरोजगारमूलक व्यवसायमा समेत युवापुस्ता सन्तुष्ट छैनन् । वैदेशिक रोजगारीमा नपुगेसम्म बिहान बेलुकाको छाक टर्दैन । विदेशिएको एक जवान उमेर नघर्केसम्म घर फर्किंदैन । त्यसैले गाउँ रित्तिएका छन् । वृद्ध र बालबालिकाले मात्रै गाउँ धानेका छन् । गाउँघरमा हुने सभा, सम्मेलन हुन वा कृषि कर्म । भेला, बैठक हुन वा विकासे काम, आजभोलि युवाको सहभागिता निकै कम छ । विदेशिने प्रचलन निकै बढेकाले गाउँमा युवा देख्न कठिन हुन थालेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मी बताउँछन् । “गाउँ युवाविहिन भएका छन्”, रेग्मीले भने, “उत्पादनशील जनशक्तिको अभाव हुन थालेको छ, विदेशमा सस्तो मूल्यमा हाम्रो परिश्रम विकिरहेको छ ।”

आप्रवासनले विप्रेषण भित्र्याएको भए पनि नेपाली समाजमा गहिरो गरी सामाजिक पुँजीको नाश भइरहेको वैदेशिक रोजगार बोर्डको ठम्याइ छ । अर्कोतर्फ असुरक्षित आप्रवासनका कारण हाम्रा युवाले अनाहकमा ज्यान गुमाइरहेका छन् । “तथ्याङ्क हेर्दा कहालीलाग्दो छ, पछिल्लो चार महिना राहदानी बनाउने युवाको सङ्ख्या हेर्दा उदेकलाग्दो छ”, रेग्मी भन्छन्, “स्वरोजगारीलाई जोड दिनु आवश्यक छ ।”

बोर्डको तथ्याङ्कलाई हेर्ने हो भने गत आर्थिक वर्षमा मात्रै बागलुङबाट वैदेशिक रोजगारीमा गएका १७ जना युवाले उतै ज्यान गुमाए । कोभिड–१९ महामारीको चपेटामा परेर ज्यान गुमाएकाको त अझै तथ्याङ्क छैन । पाँच जना युवा अङ्गभङ्ग भएर फर्किएका छन् । उनीहरुको काम गरेर खानसक्ने अवस्था छैन । “आज विदेशमा भएका बाबुआमासँग बच्चाले चकलेट र ट्याबको आशा राखेको छ, माया ममता त एकादेशको कथा हुने भो”, सामाजिक संस्था बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले भने, “एकाध महिना घरमा आएको बाबुआमालाई बच्चाले भन्छ, हजुर फेरि जानु मलाई त्यही चकलेट, ट्याब, नाना र सामान ल्याइदिनु ।”

आप्रवासनका कारण नेपालमा सामाजिक र मानसिक समस्या बढ्दो रहेको सरोकारवालाको भनाइ छ । वैदेशिक रोजगारीलाई कम गर्दै स्वरोजगारमूलक व्यवसायमा लाग्न धेरै सरकारी तथा गैरसरकारी संस्थाले कार्यक्रम त ल्याएका छन् तर आप्रवासनका कारण भइरहेको आर्थिक, सामाजिक, मानसिक र मानवीय क्षतिको न्यूनीकरण आवश्यक छ ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्