बरामद सुन बाँडेर खाएकाे आराेपमा प्रहरी निरीक्षकसहित १६ प्रहरीलाई निलम्बन गर्न सिफारिस

नियन्त्रणमा लिएको सुन बाँडीचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिस गरेको छ ।

चीनको केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्ने क्रममा गएको पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन फेला परेको थियो र उनीहरुले चालकलाई छाडेका थिए । त्यो सुन आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा आयोगले उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवलदारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन् । यस्तै प्रहरी जवानहरु शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरु पदमा बहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउन सक्ने भएकाले निलम्बन गर्न सिफारिस गरेको आयोगले जनाएको छ ।

 

सभार : http://ujyaaloonline.com

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्