राष्ट्रपति भण्डारीलाई दार्चुलामा नागरिक अभिनन्दन

दार्चुला – राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलामा अवस्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहण गर्नुभएको छ । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुन धाममा उहाँलाई पहिलो पटक अभिनन्दन गर्न गरिएको हो ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीलगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रको सातौँ धामका रूपमा परिचित रहेको मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारीले विशेष पूजापाठ समेत गर्नुभयो । सुदूरपश्चिम प्रमुख शर्मिलाकुमारी पन्त र प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि पुग्नुभएको छ ।

मालिकार्जुन मन्दिर सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । भगवान् शिवका १२ ज्योतिर्लिङ्गमध्ये दोस्रो ज्योतिर्लिङ्ग मालिकार्जुनलाई मानिन्छ । यस क्षेत्रमा दार्चुला जिल्लाका साथै सुदूरपश्चिम र भारत उत्तराखण्डका नागरिकले आराध्यदेवका रुपमा मालिकार्जुनको पूजापाठ गर्छन् । सरकारले पर्यटकीय गन्तव्यको एक सय सूचीमा यसलाई समावेश गरेको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा राष्ट्रपतिको भ्रमणले स्थानीयस्तरमा खुशीयालीसमेत छाएको स्थानीयको भनाइ छ ।

मन्दिरमा हरेक वर्ष आश्विन र नवरात्रिभरि शिव र शक्तिको पूजा हुने गरेको छ । नौरथा पर्वमा यस क्षेत्रका हजारौँ भक्तजन मन्दिरमा पूजाका लागि सहभागी हुन्छन् । मालिकार्जुनको बासस्थान शैल्यशिखर पर्वतमा रहेको मन्दिरका मुखिया रुद्रसिंह धामी बताउनुहुन्छ । शैल्यशिखर पवर्त मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमामा पर्छ । राष्ट्रपतिको भ्रमणका अवसरमा ती दुई स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्