गृहमन्त्री खाँणका स्वकीय सचिव पराजित

प्रदेश प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव पराजित भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका बिजेश न्यौपाने पराजित भएका हुन् ।

उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटेर बनेको क्षेत्र नम्बर २ (क) खाँणको बलियो पकड भनिएको क्षेत्र हो । यही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाका स्वकीय सचिव समेत पराजित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार खड्कबहादुर महत नेतृत्वका अधिकांश उम्मेदवारले जित हासिल गर्दा देउवा समूहका दुई जना मात्र चयन भएका छन् ।

यस्तै, रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा समेत खाँण पक्ष कमजोर देखिएको छ । यो क्षेत्रमा पनि पौडेल समूहका अधिकांश पदाधिकारी तथा सदस्य प्रतिनिधि चयन भएका छन् । यो क्षेत्रमा पौडेल समूहका परशुराम ढकालको प्यानल विजयी हुँदा देउवा समूहका रामेश्वर श्रेष्ठको प्यानल पराजित भएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ (क) मा भने देउवा पक्षको आक्रमणबाट पौडेल समूहका उम्मेदवारसहित कार्यकर्ता घाइते भएपछि मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर ३ (ख) मा देउवा समूहका घनश्याम चालिसे नेतृत्वको पुरै प्यानलले जित हासिल गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ (क) मा महामन्त्री शशांक कोइराला निकट शिवकुमार यादव र ४ (ख) मा कोइराला निकट नै श्रीराम यादव नेतृत्वको पुरै प्यानल निर्वाचित भएको छ । यस्तै, क्षेत्र नम्बर ५ (क) रामबहादुर थापा नेतृत्वको प्यानल विजयी भएको छ भने (ख) मा यसअघि नै निर्विरोध भइसकेको छ । दुवै क्षेत्रमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह पक्षका उम्मेदवार छानिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्