दक्षिण कोरियामा एकै दिनमा कोरोनाको सङ्क्रमण हुने मानिसको सङ्ख्या दोब्बरले बढ्याे

दक्षिण कोरियामा एकै दिनमा कोभिड–नाइन्टिन (१९) अर्थात् कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या झण्डै दोब्बरले बढेको छ ।

शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई सय चार जनामा सङ्क्रमण भएर सङ्क्रमितको सङ्ख्या चार सय ३३ पुगेको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप गम्भीर चरणमा प्रवेश गरेको बताएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसबाट दुई जनाको ज्यान गइसकेको छ । डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुका सडकमा मानिस निस्कन छाडेका छन् ।

कतिपय सैनिकहरूमा पनि कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ ।

चीनमा अधिकारीहरूले नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमितको सङ्ख्या बढेको हो ।

चीनमा अहिलेसम्म कोरोना भाइरसको कारण दुई हजार तीन सय ४५ जनाको ज्यान गएको छ भने ७६ हजार दुई सय ८८ जनामा सङ्क्रमण भएको पाइएको छ । चीनबाहिर विभिन्न देशमा गरी २० जनाको ज्यान गएको र एक हजार दुई सयभन्दा धेरैमा सङ्क्रमण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

चीनबाहिर सङ्क्रमितको सङ्ख्या तुलनात्मक रुपमा थोरै भए पनि स्वरुप भने चिन्ताको विषय रहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रोस अदानोमले बताएका छन् ।

यसैबीच जापानको योकोहामा बन्दरगाह क्वारेन्टाइनमा रहेको पानीजहाजबाट उद्धार गरेर अमेरिका लगेकामध्ये ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको हप्ता अमेरिकाले पानीजहाजमा रहेका आफ्ना चार सय नागरिकमध्ये सङ्क्रमण भएका ४० जनालाई जापानमै उपचारका लागि छाडेर तीन सय ६० जनालाई स्वदेश लगेको थियो ।

अमेरिकाले परीक्षणका क्रममा कोरोना सङ्क्रमण नभएको पुष्टि भएपछि आफ्ना नागरिक लगेको भए पनि १४ दिने क्वारेन्टाइनमा राखेको बेला सङक्रमण देखिएको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्