वीरगञ्जमा महिला उद्यमी राष्ट्रिय सम्मेलन

वीरगञ्ज – मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को आयोजनामा उद्यमशीलतामा नेपाली महिलाको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलोपटक यहाँ सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनबाट महिलामा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । लेडिजसर्कल नेपालसँगका सहकार्यमा हुने उक्त सम्मेलनमा मुलुकभरका करिब १०० भन्दा बढी सफल महिला उद्यमीको सहभागिता रहने सम्मेलन संयोजक मनिषा सुनुवारले जानकारी दिनुभयो । सम्मेलनमा विविध क्षेत्रमा सहभागी महिला उद्यमीको मेहेनत, सङ्घर्ष तथा सफलताका विषय प्रस्तुति रहने लेडिजसर्कल नेपालका निवर्तमान अध्यक्ष रश्मी दासले बताउनुभयो । सम्मेलनमार्फत विभिन्न क्षेत्रमा व्यवसायमा सफल महिला उद्यमीको सफलता, सङ्घर्ष र धैर्यताका अनुभव आदानप्रदान गरिने छ ।

व्यवसायमा स्थापित उद्यमी र स्टार्टअपबीच हुने सम्मेलनबाट सहभागीलाई ज्ञान, सीप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको एनवाइइएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो । उद्यममा महिलाले भोग्नुपरेका समस्यालाई उठान गर्ने र समाधानका उपायमा गहन छलफल गर्नु सम्मेलनको मूल उद्देश्य हो ।

सम्मेलनमा हुने विभिन्न सत्रका विषयवस्तु व्यवसायमा नवप्रवेशीका लागि प्रेरणाको स्रोत बन्न सक्ने दाबी गरिएको छ । सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरूबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरका रुपमा रुपान्तरण गर्ने दक्षता विकास हुने विश्वास आयोजकको छ ।

अहिले पनि आर्थिकरुपमा महिलाको सहभागिता र सक्रियता न्यून भएको अवस्थामा आयोजना हुन गइरहेको सम्मेलनले उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन र व्यावसायिक चुनौती सामनाको सामथ्र्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको हो । जनसङ्ख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको आर्थिक सशक्तीकरण नभई अर्थसामाजिक विकास सम्भव नहुने आयोजकको निष्कर्ष छ ।

प्रहरी सङ्गठनभित्रैबाट कारबाही सुरु

प्रहरी सङ्गठनभित्र पनि नियमावलीविपरीतका काम गर्ने प्रहरीलाई कारवाही गर्छ भन्ने सन्देशस्वरुप पर्सा प्रहरीले २४ जनालाई कारबाही गरेर उदाहरण प्रस्तुत गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ देखि हालसम्मको अवधिमा प्रहरी नियमावलीविपरीतका कामकारबाही गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत विभिन्न पदका प्रहरीलाई विभागीय कारबाहीमा गरिएको हो ।

समाज सुधार गर्न पहिला सङ्गठनको सुधार आवश्यक भएकाले नियमविपरीत काम गर्नेका विभिन्न पदका प्रहरीलाई विभागीय कारबाही गरिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । कारबाहीमा पर्नेमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी जवानसम्म छन् । प्रहरी आचरणविपरीतका काम गरेको आरोपमा कारबाहीमा परेका १२ मध्ये छ जनालाई निलम्बनसमेत गरिएको थियो ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्