बैंग्लुरु हैदराबादसँग ४ रनले स्तब्ध

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि ४ रनको रोमाञ्चक जीत हासिल गरेको छ । हैदराबादले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लुरुले ६ विकेटको क्षतिमा १३७ रनमात्र बनाउन सक्यो ।

खेलमा फेबरेट मानिएको बैंग्लुरुलाई जीतका लागि अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो । ब्याटिङमा सबैको नजर एबी डिविलियर्समाथि थियो । तर, भुवनेश्वर कुमारले अन्तिम ओभरमा शानदार बलिङ गर्दै ८ रन मात्र खर्चिँदै रोमाञ्चक जीत दिलाए । बैंग्लुरुका लागि देवदत्त पडिक्कलले सर्वाधिक ४१ रन बनाए भने फर्ममा रहेका ग्लेन म्याक्सवेल रनआउट हुनअघि २५ बलमा ४० बनाए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । हैदराबादका लागि जेसन रोयले सर्वाधिक ४४ रनको योगदान दिए भने कप्तान केन विलियमसनले ३१ रन बनाए । बैंग्लुरुका लागि हर्षल पटेलले ३ विकेट लिए ।

हारसँगै शीर्ष २ मा रहने बैंग्लुरुको सपना चकनाचुर भएको छ । १३ खेलपछि बैंग्लुरु १६ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । २० अङ्कसहित दिल्ली शीर्ष स्थानमा रहेको छ भने १८ अङ्क बटुलेको चेन्नई दोस्रो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्