बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।

बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि निरन्तर रूपमा प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ । संसदमा देखिएको गतिरोध अन्त्य गर्न यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले पनि सर्वदलीय बैठक राखेका थिए । तर उक्त बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए ।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले पहल थालेका हुन् । प्रधानमन्त्रीको आह्वानमा आज बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरूद्ध गरिरहेको हो । कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाएको छ भने पार्टी विभाजन गर्न भूमिका खेलेको पनि आरोप लगाएको छ ।

आज पनि संसद बैठक बस्दैछ । दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । ओली प्रधानमन्त्री भएका बेला ल्याइएका केही अध्यादेशलाई सरकारले संसदमा पेश गर्ने तयारी पनि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्