आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसमविज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाकोे सम्भावना छ ।

विभागका मौसमविद् गङ्गा नगरकोटीले उक्त प्रणालीको प्रभावका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३५ दशमलव आठ डिग्री सेल्सियस छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्