१० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ मा फर्कियो एमाले, दशौं महाधिवेशन मंसिरमा हुने

FILE PHOTO

काठमाडौं – नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएको छ । साथै विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति समेत तोकेको छ ।
महाधिवेशन आउँदो मङ्सिर १०, ११ र १२ गते आयोजना हुने तय भएको छ । ललितपुरमा आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकले २७ असारमा भएको १० बुँदे सहमतिअनुसार पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील बनाउने निर्णय गरेको छ ।
स्थायी कमिटीको बैठकले पार्टीको विधान महाधिवेशन ४–६ असोज र दशौं महाधिवेशन १०–१२ मंसिरमा गर्ने निर्णय गरेको छ ।

विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी तथा २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ । पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाउने र असोज मसान्तभित्र नवीकरण गरिसक्ने निर्णय भएको ज्ञवालीले बताए ।

साथै कात्तिक ६ गते वडा र ९ गते पालिका स्तरको अधिवेशन गर्ने पनि बैठकको निर्णय छ । आजको बैठकमा माधव नेपालको साथ छाडेका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि सहभागी भएका थिए । यस्तै माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी पनि बैठकमा गएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्