बलात्कार अभियाेग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको मुद्दाकाे सोमबार फैसला हुने

काठमाडौं  – आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला भोलि (सोमबार) हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ भएको थियो । आइतबारै सुनुवाइ सकिए पनि फैसला भने भोलि (सोमबार) सुनाइने स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

महराको पक्षमा अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बरालले बहस गरेका थिए । त्यसैगरि अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले पनि महराको पक्षबाट बहस गरे । सरकारी वकिलहरुले बहस गरिसकेपछि महराको पक्षबाट बहस भएको थियो । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ आइतवार अपरान्ह सकिएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते बलात्कार प्रयास गरेको अभियोग महरामाथि लागेको थियो । गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतले थुनामा पएपछि महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । तर, उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्