पार्टी दिएको निवासमा हो कार्यकक्षमा होइन मुख्यमन्त्री गुरुङ (विज्ञप्ती सहित)

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको एउटा भिडिओ शनिबारदेखि सामाजिक सञ्चाजमा चर्चामा छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरूङले कार्यकक्षमै मदिरासहितको भोज गरेको भनेर कतिपयले उनको आलोचना गरेका छन् ।

सार्वजनिक भएका फोटोरभिडियोमा रक्सीको बोत्तल मुख्यमन्त्रीले हातमा लिएका छन् । उक्त कोठाको भित्तामा राष्ट्रपतिको फोटो र नेपालको राष्ट्रिय झण्डा पनि देखिन्छ ।

मुख्यमन्त्री गुरूङ सचिवालयले कार्यकक्षमा नभई जन्मदिनमा निवासमा पारिवारिक जमघट भएको उल्लेख गरेको छ ।

उनको निजी सचिवालयका डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति निकालेर फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन रहेको र उक्त दिन निवासमा साँझ पारिवारिक जमघट रहेको उल्लेख गरेका छन् ।

‘गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल र विभिन्न संचार माध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ उनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ मा मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन मुख्यमन्त्रीको जन्म दिनसमेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो। सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ ।’

विज्ञप्तिमा गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको उल्लेख गरिएको छ ।

‘अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहान्छौ,’ उनले भनेका छन्, ‘कुनै भ्रममा नपर्न हामी आग्रह गर्दछौं ।’

उक्त फोटो र भिडिओ पारिवारिक जमघटमा सहभागी आफन्तबाटै सार्वजनिक भएको थियो । मुख्यमन्त्री गुरुङ प्रमुख जिल्ला अधिकारी बस्नका लागि बनाइएको क्वाटरमा बस्दै आएका छन् ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्