नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला काठमाडौँमा हुँदै

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू काठमाडौंमा भेला हुने भएका छन् ।

साउन २५ गते जिल्ला सभापतिहरू काठमाडौँमा भेला हुने तयारी छ । महाधिवेशन अन्योलमा परेको अवस्था रहेकोले सभापतिहरुको भेला गर्न लागिएको पौडेल पक्षधर एक नेताले बताए । पौडेलसहित नेताहरू बिहीबार पनि बेग्लै भेला गरेका थिए ।

पौडेल पक्षले भदौ २३ पछि सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको कार्यसमितिलाई मान्न नसकिने चेतावनी दिँदै भदौ १६ देखि १९ मै महाधिवेशन गर्न आग्रह गरिरहेको छ ।

साथै महाधिवेशन सम्भव अहिले नदेखिए विशेष महाधिवेशन गर्न पौडेल पक्षको माग छ । तर सभापति देउवाले भदौमै महाधिवेशन गर्न आफू तयार रहेको बताइरहेका छन् । कांग्रेसमा क्रियाशील सदस्यतामा देखिएको विवाद पनि समाधान हुन सकेको छैन। कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील सदस्य बनाएको छ ।

बारा, सप्तरीलगायत छ जिल्लामा क्रियाशील विवाद छ। क्रियाशील विवाद टुंग्याउन शीर्ष नेतालाई जिम्मेवारी दिए पनि अहिलेसम्म समस्या समाधान भइसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्