कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८०नेपालीलाई नेपाल ल्याउने तयारी

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने जानकारी दिनुभयो । मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले चीनबाट ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिनुभयो । उहाँले १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कोरोना भाइरसको लक्षण नदेखिएमा मात्र घर जान दिने बताउनुभयो । चीनमा कोरोना भाइरसको सङ्क्रमण रोकिएको छैन । त्यसलाई ध्यान दिई सङ्क्रमण भित्रिनै नदिन नेपालमा छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने हुन्छ । यसअघि बाहिर गएर आएका केही नेपाली सेना र प्रहरीलाई मात्र क्वारेन्टाइन व्यवस्था गरिएकोमा योपटक नागरिकलाई समेत पहिलोपटक क्वारेनटाइनमा राख्नुपर्ने भएकाले ढिलाइ भएको जनाइएको छ । चीनबाट लक्षण नदेखिएका नेपालीलाई मात्र नेपाल ल्याइन्छ । लक्षण देखिएका व्यक्तिलाई चीनमै आइसोलेसनमा राखेर उपचारको व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्