CORONA

मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास सहित (सबैले सेयर गराैँ )

द्वितीय ज्योतिर्लिङ्गको मालिकार्जुनको अवतारी मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट पुष्ठि भएको पाइन्छ । त्यहाँबाट सौराष्ट्र प्रदेश हुदै कत्युर गडवाल, कुमाऊँ हुदैँ दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन पाइन्छ । तत्कालीन डोटी राज्य भित्र पर्ने दुहूँ क्षेत्रमा बम रजवारले डोटी राज्यलाइ कर बुझाइ रजवारी पाएका थिए । यिनका समकालीन उकुका रजवार कल्याण पाल थिए । डोटी राज्यका शासक निरइदेव पालका भाइ अभय पालका सन्तान भएकाले उकुका रजवार अरू रजवार भन्दा आफू श्रेष्ठ भएका घमण्ड पनि गर्दथे । उकुका रजवार कल्यान पाल र दुहूँका रजवारको शासनकाल एकै समय थियो । दुहूँ र उकुको सिमाना जोडिएकै कारण यी दुवैमा आपसी बैमनुष्य, रिस, राग, द्वैषको अवस्था सिर्जना भइ मन मुटाव भएको थियो । यी दुबैका शासनकाल १९५० तिर रहेको पाइन्छ । यी दुबै रजवार बिचको मनमुटावका कारण सिमावर्ती क्षेत्रमा कर वसुली न्याय, इन्साफ जस्ता कार्यमा समेत असर पुगेको थियो । कालु बम भन्दा कल्याण पालको राज्यमा सल्लाह कारको रूपमा परशुराम पन्त, दत्तु जोशी, कर्ण देव विष्ट र एक जना ओझा थरका व्यक्ति थिए । एक पटक तीनै सल्लाहकारहरूले दुहूँका रजवारसँग सन्धि सम्झौता गर्ने सल्लाह दिए ।

कल्याण पालबाट सल्लाह मानि मेलमिलाप गर्ने उद्देश्यले चारै जना सल्लाहकारलाइ कालु बम कहाँ पठाए । त्यहाँ गइ उक्त प्रस्ताव कालु बम समक्ष राख्दा प्रस्ताव स्वीकार त गरे । तर आफू कल्यानपाललाइ भेट्न उकु नजाने त्यहाँ गएमा आफ्नो हत्या हुन सक्ने भएकाले बरू सहमति स्वरूप सौगात पठाइ दिने कुरा कालु बमबाट दर्साउदा सल्लाहकारहरूबाट गाइको गोबरबाट निर्मित मालिकार्जुनको लिङ्ग बनाइ उक्त लिङ्गको कसम खादै कल्यान पालबाट कुनै पनि खतरा भएमा आफूहरू उसको विरोध गर्ने र कालु बमको पक्षमा रहने विश्वास दिलाइ कालु बमलाइ उकु ल्याए । कालु बम उकु पुगेपछि कल्याण पालले सल्लाहकारको राय विपरीत कालु बमको हत्या गरेकाले कल्याण पालको विरोध गर्दै परशुराम पन्त, दत्तु जोशी र कर्णदेव विष्टले राज्य विद्रोह गरे भने ओझा थरका व्यक्तिले राज्य समर्थन गरे भने ओझा थरका व्यक्तिले राज्य समर्थन गरे । सो विद्रोह गर्नेलाइ कल्यान पालबाट प्राण दण्डको सजाइ सुनाइयो भने ओझालाइ दरवारको विश्वास पात्र बनाइयो ।

यसरी दुहूँको दाम्दा कोट (विण) मा स्थापित लिङ्गमा मन्दिर बनाइयो र त्यसै समयदेखि पूजा आजा गरीदै आएको छ । यसको समय सन् १९२० तिर मानिन्छ । मालिकार्जुनको मन्दिरमा कालुबमको राज पुरोहित बडु थरका व्यक्ति नै पूजा आजा गराउँछन् र मालिकार्जुन लिङ्गमा कसम आएको उल्लङ्घन गरी कालु बमको हत्यामा समर्थन गरेकाले ओझा थरका ब्राह्मणहरूलाइ उहिलेदेखि हालसम्म पनि मालिकार्जुनको श्रापका कारण मालिकार्जुन मन्दिरमा ओझाको पानी चढ्दैन र पूजाआजामा समेत ओझाहरूलाइ निषेध गर्ने परम्परा रही आएको छ ।

मालिकार्जुन र छिपला बिचको युद्ध वर्णन

इ.स. १४००–१५०० बिचको अवधिमा मालिकार्जुन र छिपला दुबै देवताबिच युद्ध भएको तथ्य पाइन्छ र युद्धमा मालिकार्जुनको विजय भएको पाइन्छ् । यी दुबै बिचको युद्धको कारण कुमाउँखण्डको हुन देश हालको (व्यासतिर) मा कुटी भन्ने प्रख्यात ठाउँ थियो । त्यस देशका राजाकी छोरी (भागाश्री) नामकी सुन्दरी राज कुमारी थिइन् । जसको सुन्दरताको चर्चा सर्वत्र फैलिएको थियो । ती भागाश्रीलाइ मालिकार्जुन देवता एकातिर ल्याउन आतुर थिए भने अर्काेतिर केदार देवता पनि त्यसका प्रत्यासी थिए ।

केदार र मालिकार्जुन एकदमै मिल्ने साथी थिए । यी दुबै शैव सम्प्रदायी हुनुका साथै केदारकी रानी (पटौदा) र मालिकार्जुनकी रानी (शोभाश्री) बिच बहिनी नाता भएबाट दुबैको पारिवारिक सम्बन्ध पनि घनिष्ट नै थियो । यति हुँदाहुदैँ पनि मालिकार्जुन र केदारबिच भागाश्री प्राप्तिका लागि प्रतिस्पर्धा गोप्य रूपले चल्न थाल्यो । यसरी दुबैमा एक अर्कालाइ भागाश्री प्राप्तिको मामलामा बाधक सम्झन थाले । एक दिन दुबै देवता पानी धारातर्फ लागे । धारामा पुग्नु भन्दा पूर्व मालिकार्जुनबाट केदार प्रति षड्यन्त्र गर्ने योजना बनाइ पानी धारमा माथिबाट चामल फालेका थिए । सो कुरा केदारलाइ थाहा थिएन । पानी धारमा पानी पिउँदा ती भिजेका चामल बगेर धारमा आए ।

मालिकार्जुनबाट केदारको अपहेलना गर्ने तरिकाबाट तिमीले जुठो भात फालेको पानी पिएका छौ । त्यसैले तिमी देवताको सिँढीमा रहदैनौ र तिमी भागाश्री लाइक रहेनौँ भनी मालिकार्जुन आफ्नै रैथान तिर लागे । आफ्नो अपमान भएको सम्झी केदारले दुःखित भइ जोगीको रूप बनाइ पानीको मूल खोज्दै हिँडे । जाँदाजादै पानीको मूलमा ठूलो ओढार रहेछ । त्यो ओढारमा अस्त्रशस्त्र सुसज्जित चर्मे भूतको परिवार बस्दो रहेछ । यसरी आफू अपमानित भएको झोकमा केदार देवताले चर्मे भूतका सम्पूर्ण परिवारलाइ मारिदियो र चर्मे भूतकी श्रीमती गर्भवती भएकाले उसको पेट बाहेको अन्य ठाउँमा कुटपीट गर्दा एउटा बालक उछिट्टीएर केदारको शरीरमा टाँसियो । यसरी टाँसिएको बच्चालाइ छुरीले आफ्नो मासुकाटी बच्चासहित मासु भुइँमा फालिदिए । छिपलाबाट यसरी आफ्नो परिवारको नास गर्ने कारण सोध्दा उक्त घटनाको यथार्थ सविस्तार भन्दा मालिकार्जुनको षडयन्त्रको कारणले आफ्नो सम्पूर्ण परिवारको नास भएको कुरा थाहा पाए पछि चर्मे (छिपला देवता) भूतको बच्चाले मालिकार्जुनसँग बदला लिने अठोट ग¥यो । यिनी चर्मे भूतका छोरापछि केदारबाट पालन पोषित भइ स्थान समेत दिएका कारण राक्षस हुँदाहुदैँ देव स्थान प्राप्त गरी देवता मानिएका हुन् ।

यी देवता (छिपला) लेकममा शक्तिशाली देवताका रूपमा मानिने हुनैनाथका जन्मदाता हुन् । यस्तो कुरा केदार देवताले सुन्दा केदारले आफ्नो मन्दिर नजिकै छिपलाको मन्दिर निर्माण गरी बस्ने व्यवस्था समेत मिलाइ दिएपछि मालिकार्जुनले ल्याउन खोजेकी परम सुन्दरी राजकुमारी भागाश्रीलाइ छिपलासँग छलकपट बल जे जसरी भएपनि मालिकार्जुनले लैजानपूर्व आफ्नो घरमा ल्याइ स्वास्नी तुल्याइ सकेकाले केदार देवता अति खुसी भइ मालिकार्जुनको शेखी झारेकोमा गौरवान्वित भएका थिए ।

यसरी आफूले ल्याउन खोजेकी भागाश्री छिपलाले छल कपट पूर्वक ल्याएको सुनेर मालिकार्जुन अत्यन्त भावविभोर हुन्छन् । मालिकार्जुन भागाश्री प्रति यति आशक्त थिएकि उनलाइ रातिमा निन्द्रा आउँदैनथ्यो, खाना खान मन लाग्दैनथ्यो, हरक्षण भागाश्री मै तल्लीन रहन्थे । भागाश्रीबिना आफू बाँच्न नसक्ने कुराको विरह पोख्दथे । भागाश्रीलाई छिपलाले ल्याएको कुरा मालिकार्जुनले थाहा पाए पछि भागाश्रीलाइ आफ्नी रानी बनाउन उनले हरण गर्ने बिचार गरे । यसरी भागाश्रीलाइ मालिकार्जुनले हरण गरेपछि छिपला र मालिकार्जुन बीच ठूलो युद्व भएको पाइन्छ । युद्वमा मालिकार्जुनको विजय भएको पाइन्छ ।

श्री लटिनाथ देवताले तल बग्ने पहिरोलाइ माथि फर्काएको उदाहरण

लटिनाथ मालिकार्जुनका पुत्र हुन् । यिनलाइ सौतेनी आमाहरूले षड्यन्त्रपूर्वक जन्मने वित्तिकै खोलामा बगाइ दिएका थिए । पछि माझीले फेला पारी घरमा लगेर पालन पोषण गरेको र ठूलो भएपछि यिनी मार्माको तलैमाडाैँमा लटिनाथको रूपमा अवतार भएको पाइन्छ । मालिकार्जुनले छिपलाकी रानी भागाश्री अपहरण गरेपछि छिपलाको आक्रमण भएपछि लटिनाथले मालिकार्जुनको विजयमा ठूलो भूमिका खेलेको पाइन्छ । मालिकार्जुन र भागाश्री भागेर शिखर स्थित डाँडामा निगलाको घारीमुनि लुकेर बसेको र छिपलासँग प्रत्याक्रमणको कुनै तयारी नभएको अवस्थामा थकित र दुःखित हुँदै लटिनालाइ नदीमा बगाएको गलैनाथ नाबालक भएको अवस्थामा मलाइ कसले सहयोग गर्ला भनी मालिकार्जुनले विलाप गर्न थाले । यस प्रकार मालिकार्जुन संकटमा परी दुःखित भइराखेको छिपलाको सौजन्यले घेराउन गरी आक्रमण गरिराखेको थाहा पाए पछि मार्माको तलैमाण्डौबाट आफैँ सेनापति बनी अन्य देवतालाइ सहयोगी बनाइ युद्व गर्न लटिनाथ शिखर पुगे । शिखर डाँडामा मालिकार्जुनलाइ जानकारी गराइ शिखर डाँडाबाटै युद्व गर्न थाले ।

छिपलाको फौजले शिखरमा चढ्न अपठ्यारो भएकाले मालिकार्जुन बस्ने ठाउँमा पत्ता लगाउन देथलीमा पानीको ठूलो तलाउ बनाएका थिए । जसमा सूर्यको किरण प्रत्यावर्तन भइ शिखर डाँडामा पर्ने उक्त किरणले मालिकार्जुन बसेको ठाँउमा निसाना बनाइ तोप र बम गोला प्रहार गर्ने सजिलो भएको थियो । सो कुरा लटिनाथले थाहा पाइ शिखर डाँडाबाटै फलामको त्रिशुल प्रहार गरी उक्त दहको दक्षिण तिरको भाग भत्काइ दिए । जसले गर्दा पानी बाढीको रूपमा बग्न थाल्यो र तलाउ भत्कियो । तलाउ भत्काएको आक्रोशमा छिपलाबाट लटिनाथको सेना रहेको ठाँउ जयपुर र बन्तोलीमा तोप र गमलोडा प्रहार गर्न थालो । छिपलाको बम नदीको किनारामा साह्र ढुंगा (गम्लोडा) प्रहारबाट शिखर डाँडामा पहिरो समेत जान थाल्यो त्यसको प्रतिकारमा लटिनाथले तलतिर आएको पहिरोलाइ रोकि दिएकाले छिपलाको आक्रमण निरस्त पारेको पाइन्छ । त्यसैले आजपनि लटिनाथको प्रसंसा गर्दा तल बग्ने पहिरो माथि फर्काउने बीर (उना पैरा उब फर्काउन्या वीर) भनी प्रशंसा युक्त सम्बोधन गरिन्छ ।

याे पनि पढ्नुहाेस्र 

 

मालिकार्जुन जागरण [जागर] गाथा (झाेडाे र झाेडाेकाे व्याख्या सहित) एकपटक पढेर सेयर गराैँ

 

श्राेत सामाग्री 

काशीदत्त भट्ट (२०४३) मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार : फैन्डस प्रिन्टिङ प्रेस ।
इश्वरदत्त बडु (२०७१) दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने.स. वि.वि. शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर ।
दयाकृष्ण  पन्त (२०६७) दार्चुलाको इतिहास महेन्द्रनगर ।
गणेशदत्त  पन्त (२०७४) दार्चुला जिल्लामा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्