सञ्चारमाध्यमहरुले गर्ने सम्बोधनप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाण्डौ – नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउनुभएको छ । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाईँ नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाउनुभएको हो ।

सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुरभन्दा आफू अपमानित भएको ठान्ने गरेको बताउनुभयो । नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजूरभन्दा सारै सानो ठान्ने गरेको बताउनुभयो ।

‘हाम्रो आफ्नो भाषा छ । भाषाको मर्म छ । हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने गरिन्छ । सञ्चारमाध्यमहरुले हजुर भन्दाखेरी साह्रै सानो ठान्छन् । अंग्रेजीको कपि गरेर मिस्टर र मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ । कसैलाई तपाईँ भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप समेत सञ्चारमाध्यमलाई लगाउनुभएको छ ।

ओलीले भन्नुभयो, ‘तपाईँ भन्ने शब्द आदरार्थी शब्द समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । अंग्रेजीमा ‘यू’ भनेपछि पुग्छ । बीबीसीले पहिले सुरु ग‍र्यो । हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन्, भन्नुभयो भन्न आउँदैन ?’

उहाँले नेपाली सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत बताउनुभएको छ । लहैलहैमा लागेर सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरिरहेको आरोप समेत प्रधानमन्त्री ओलीको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्