काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागु, अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द

काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।

कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय वैशाख ३० गतेदेखि बन्द गर्न÷गराउन आदेश जारी गरिएको छ । अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा काम गर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यसपालि निषेधाज्ञामा बिहान १० बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छन् । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो । निषेधाज्ञा जारी रहेकै समयमा कोरोना संक्रमणको दर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्