४ जना मन्त्रीलाई माओवादी केन्द्रको कारवाही, साधारण सदस्यबाट समेत निस्कासित

काठमाडौं – नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।

प्रचण्डले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्दीय सदस्य पद स्वीकार गरेकाले कारबाही गरेको उल्लेख गरेका छन् ।

उनीहरुले दलको विधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व जानाजान उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्रले गत चैत १ गते स्पष्टीकरण माग गर्दै सरकारबाट फिर्ता आउन निर्देशन दिएको थियो ।

तर उनीहरुमध्ये रायमाझी, भट्ट र चौधरीले स्पष्टिकरणको जवाफ नै नदिएको र साहले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै माओवादी केन्द्रले संसद सचिवालयमा दल त्यागसम्बन्धी कारबाहीका लागि सिफारिस गरेको थियो ।

माओवादी केन्द्रको चैत १ र २ गतेको केन्द्रीय समितिको निर्णयले प्रत्यायोजित गरेको अधिकार अनुसार अध्यक्ष प्रचण्डले मंगलबार उनीहरुले दल त्याग गरेको ठहर गरी साधारण सदस्य पनि नरहने गरी निश्कासन गरेका हुन् ।

‘दल त्यागको सूचना नेपाल कम्युनिस्ट पार्टी (माओवदी केन्द्र) प्रतिनिधिसभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेश गर्नेसमेत निर्णय गरियो’ अध्यक्ष प्रचण्डले जारी गरेको सूचनामा भनिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्