दार्चुलाको महाकाली नगरपालिकामा मेयरको मनपरी, पूर्वाधार विकासमा ढिलासुस्ती, काम नगरी भुक्तानी

दार्चुलाको महाकाली नगरपालिकाले सडक निर्माणमा लापरवाही गर्ने गरेको पाइएको छ । विभिन्न वाहाना देखाउदै सडक निर्माणमा लापरवाही गर्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ । दार्चुलाको सदरमुकाम खलंगा देखि दल्लेख–खार सडकमा पनि नगरपालिकाले आर्थिक चलखेल गरेको आशंका स्थानीयले गरेका छन् । स्थानीयका अनुसार प्रदेशको ८० लाख र नगरपालिकाको २० लाख गरी १ करोडको बजेट स्तरोन्नतीमा बिनियोजित भएको थियो । उक्त सडक निर्माण पश्चात बाढी, पहिरो आएर पुनः क्षति पुगेको भन्दै नगरपालिकाले चलखेल गरेको स्थानीयको गुनासो रहेको छ ।
२० प्रतिशत समेत काम नगरी पैसा भुक्तानी गर्न नगर प्रमुख हंशराज भट्ट नै अग्रसर देखिएका छन् । आफ्नो आडमा मनपरी ढंगले योजनाहरुको भुक्तानी गराउन कर्मचारीलाई बाध्य पार्ने काममा प्रमुख भट्टको हात देखिएको छ । यसैगरी डुङरी–बाँज सडकखण्डमा पनि नगर प्रमुख नै दोषि देखिएका छन् भने असिगाडा–खलंगा सडकमा पनि मेयरले मनपरी गरेको स्थानीयको गुनासो छ ।
यस्तै नगरपालिका भित्रको शिक्षा क्षेत्रमा पनि नगर प्रमुखको मनपरी देखिएको छ । विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु निकटका व्यक्तिलाई नियुक्त गराउने गरेको पाइएको छ । कांग्रेसबाट निर्वाचित वडा अध्यक्षलाई नै सम्बन्धित वडाको विद्यालयको अध्यक्ष नियुक्त गर्ने र अन्य पार्टीबाट निर्वाचित वडा अध्यक्ष भएको वडाका विद्यालयमा आफुले नै तोकेर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गर्ने गरेको पाइएको छ ।
आफु निकटका जनप्रतिनिधिलाई बोलाई निर्णय गराउने गरेको र बहुमतको आडमा मनपरी निर्णय गराई स्वार्थको आधारमा आफु निकटका व्यक्तिहरुलाई जिम्मेवारी दिने गरेको गुनासो आएको छ । यसैगरी वडा नं. ९ को दत्तुमा एमालेबाट निर्वाचित वडा अध्यक्ष रहेका छन । उक्त वडामा रहेको विद्यालयमा कांग्रेसबाट पराजित वडा अध्यक्षलाई विद्यालय व्यस्थापन समितिको अध्यक्षमा नियुक्त गरेका छन् । यस विषयमा स्थानीयहरुले आवाज उठाउदा नगर प्रमुखले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितको अध्यक्ष रहने शिक्षा निमावलीमा उल्लेख रहेको बताउदैँ आएका छन् । नगर प्रमुख भट्टका यी यस्ता निर्णयले स्थानीय मारमा पर्दै आएका छन् ।
यस विषयमा नगरपालिकाका प्रमुख भट्टसँग पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि फोन रिसिभ गर्नुभएन । यस विषयमा हामि नगर प्रमुखसँग बुझ्ने प्रयास गर्नेछौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्