इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण

इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण भएको छ । आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् । इराकी सेनाले आइतबार सैनिक अड्डामा आक्रमण भएको जनाएको छ । ‘बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको छ’, सेनाले जारी गरेको बयानमा गरिएको छ ।
अल–बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख अड्डा हो । इराकले आफ्नो एफ–१६ लडाकु विमान पनि यही राख्दै आएको छ । यो आक्रमणमा अमेरिकी सैनिकलाई कुनै पनि हानी नपुगेको बताइएको छ ।
अमेरिका र ईरानबीच तनाव बढ्दै गएपछि यहाँबाट धेरैजसो अमेरिकी सैनिकले छोडिसकेका छन् । रकेट कहाँबाट प्रहार भएको थियो भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । ईरानले आफ्नो शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि गएको हप्ता यही सैनिक अड्डामा मिसाइल प्रहार गरेको थियो ।

अमेरिकाले इराकको अन्तर्रा्ष्ट्रिय विमानस्थलनजिक क्रुज मिसाइल प्रहार गरेर सुलेमानीको हत्या गरेको थियो । यो घटनापछि अमेरिकी र ईरानबीच तनाव झन् बढ्दै गइरहेको छ । पछिल्ला दिनमा इराकमा रहेका अमेरिकी सैनिक अड्डामा आक्रमणको सिलसिला बढिरहेको छ । तर धेरैजसो आक्रमणमा इराकी सैनिक घाइते भएका छन् । यस्तै आक्रमणमा एक अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो ।

उज्याले अनलाइनकाे सहयाेगमा तयार पारिएकाे समाचार http://ujyaaloonline.com/

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्