हिमपातले जनजीवन प्रभावित

फुङ्लिङ, फागुन ५ गते । गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाले भन्नुभयो, “शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब एक फिटसम्म हिउँ जमेको छ ।” सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताउनुभयो । पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन । घरभित्र आगो तापेर बस्नुपर्छ ।” जनजीवन निकै प्रभावित भएको उहाँले बताउनुभयो ।

चौँरी र गाईवस्तु हिउँ कम पर्ने अलिक औल झारेको फले निवासी लाक्पा भोटियाले बताउनुभयो । हिजोदेखि अहिलेसम्म निरन्तर हिउँ परेको उहाँले जानकारी दिनुभयो । घुन्सागाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्दछ । यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा याङमा गाउँ पर्दछ । यस बस्तीमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताउनुभयो । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ ।

सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासी कमल राईले बताउनुभयो । मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा पनि शुक्रबारदेखि आज रातभरि हिमपात भएको रिङ शेर्पाले बताउनुभयो । ताप्लेजुङ जिल्ला हिउँले सेताम्मे भएको छ । ताप्लेजुङमा आजको बिहानको मौसम न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्