दार्चुलामा घाँस काट्न गएकी महिलालाई भीरबाट धकेलेर हत्या

दार्चुलामा घाँस काट्न गएकी एक महिलाको भीरबाट धकेलेर हत्या भएको छ। नौगाड नगरपालिका-६ स्थित गडिगाड भीरमा अन्दाजी ३० वर्षीय अकबरसिंह बोहराले २३ वर्षीया अम्मरा खत्रीलाई धकेलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए।

मंगलबार अपरान्ह ४ बजे घाँस काट्न गएकी अम्मरालाई अकबरसिंहले पछाडिबाट धकेलेर भीरबाट खसालेको चन्दले बताए। ‘घाँस काट्न गएकी थिइन्। त्यस क्रममा पछाडिबाट धकेलेर भीरबाट खसाले,’ उनले भने, अन्दाजी २५-३० मिटरमाथिबाट खसेकी उनको घटनास्थलमै मृत्यु भएको थियो। चन्दका अनुसार उनीहरू दुबै जना एउटै गाउँका हुन्।

‘उनीहरू एउटै गाउँका हुन् त्यसैले चिनजान थियो भन्न सकिन्छ,’उनले भने, ‘आरोपित मानसिक रूपमा अस्वस्थ्य रहेको बुझिएको छ।’ आरोपित बोहरा फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। मृतक अम्मराको शव पोष्टमर्टमको लागि गोकुलेश्वर अस्पताल राखिएको छ।

सेतोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्