सरकारले सर्वोच्चबाट फिर्ता लग्यो मन्त्रिपरिषदको निर्णयको सक्कल

काठमाडौं – सरकारले सर्वोच्च अदालतमा बुझाएको प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिसमक्ष पेश गरेको सिफारिसको सक्कल सर्वोच्च अदालतबाट फिर्ता लगेको पाइएको छ ।

संसद विघटन असंवैधानिक भएको भन्दै रिट परेपछि सर्वोच्चले ५ पुसमा बसेको मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिसमक्ष पेश भएको सिफारिसको सक्कल पनि माग गरेको थियो । मन्त्रिपरिषदको कार्यालयले सबै कागजात पेश गरेको थियो ।

तर २३ पुसमा पत्र लेखेर २८ गते पुनः पेश गर्ने गरी दुबै सक्कल लगेको पाइएको छ । शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले यसरी निर्णयको सक्कल लगिएकोमा प्रश्न उठाएका छन् ।

मन्त्रिपरिषद्को प्रतिनिधिसभा विघटन सिफारिस गर्ने निर्णयमा नेपालको संविधानअनुसार मात्र भनिएको, तर राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (१) र (७) र ८५ उल्लेख गरेको भन्दै उनले अहिले निर्णयको सक्कल लगेर थपघट गर्न सक्ने उनको आशंका छ । उनले सबै कागजात शिल गर्न माग गरे ।

इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोधेपछि मन्त्रिपरिषद्को निर्णय र सिफारिसको सक्कल २८ पुसमा पेश गर्ने गरी लगेको तर अहिलेसम्म नल्याएको पाईको छ । तर फोटोकपी भने राखिएको छ ।

प्रधानन्यायाधीश जबराले अदालतमा पेश भएको सक्कल फिर्ता लैजाने विषय नभएको बताए । तर श्रेष्ठले माग गरेजस्तो कागजपत्र शिल गर्न भने आदेश भएन ।

नायव महान्यायाधीवक्ता पदमप्रसाद पाण्डेले भने मन्त्रिपरिषदको निर्णय चाहिएको बेला देखाउन ल्याउने गरी फिर्ता लैजानु सामान्य भएको बताए । बहसका क्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले पृष्ठ तीन मात्र हेरेर नेपालको संविधान मात्र उल्लेख गरिएको दाबी गरेको भन्दै पाण्डले भने, ‘पहिलो पृष्ठमा धारा ७६ (१) र (७), धारा ८५ उल्लेख गरिएको छ ।’ अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्