नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन ‘नागरिक एप’ सार्वजनिक

FILE PHOTO

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘नागरिक एप’ सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सो एप सार्वजनिक गर्नुभएको हो ।
सरकारको तर्फबाट नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन सो एप तयार गरिएको मन्त्री गुरुङले बताउनुभयो । सरकारी कामकाजलाई प्रभावकारी बनाउन र त्यसको अनुगमन सहजका लागि एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास मन्त्री गुरुङले गर्नुभयो । सरकारको काम नागरिकको हातहातमा पु¥याउन नागरिक एप आजैबाट परीक्षणका लागि सार्वजनिक गर्दछुँ उहाँले भन्नुभयो, “सरकारले शुरु गरेको सेवाहरुको लाभ लिन पनि म सबैमा आग्रह गर्दछुँ ।”
“लाइन होइन, अनलाइनबाट २४ घण्टा सरल, सहज र प्रभावकारी सेवाका लागि नागरिक एप” सार्वजनिक गरिएको मन्त्री गुरुङले बताउनुभयो । नागरिक एपबाट प्यान नम्बर प्राप्त गर्न सकिने, एपबाटै डिजिटल सूचना प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । सरकारका सबै सेवालाई एकीकृततहमा डिजिटलाइज्ड गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । मोबाइलसेट मार्फत कर तिरेको विवरण, नागरिकता, राहदानी, मतदाता परीचयपत्र, नागरिक लगानीकोष, सञ्चयकोषको जम्मा भएको रकम र ऋणबारे जानकारी लिन सकिने मन्त्री गुरुङले जानकारी दिनुभयो ।
‘नागरिक एप’मार्फत हेलो सरकारमा गुनासो गर्न सकिने पनि मन्त्री गुरुङले जानकारी दिनुभयो । सेवा लिन नागरिकले नागरिकता, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्दा सेवा लिन सकिने मन्त्री गुरुङले बताउनुभयो । सरकारी सेवालाई प्रविधिमैत्री बनाउन एप परीक्षणकालको रुपमा सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।
आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र आदि विषयसहित नागरिकसँग सम्बन्धित सेवाहरु थपिदै जाने उहाँले बताउनुभयो । एप प्रयोगले सरकारी काम पारदर्शी, भरपर्दो र सुरक्षित हुने उहाँले प्रष्ट पार्नुभयो । इन्टरनेटको पहुँच भएका सबै नागरिकले सेवा सजिलै लिन सक्ने बताउनुहुँदै मन्त्री गुरुङले एप प्रयोगकालागि तालिम, प्रशिक्षणको अभियान पनि सञ्चालन गरिने बताउनुभयो ।
सरकारको कामलाई एकीकृतरुपमा प्रदान गर्न एप बनाइएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “नेपाललाई स्मार्ट नेपाल बनाउने सरकारको लक्ष्यअनुसार एप बनाइएको हो, समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नमा यसले सहयोग गर्नेछ, त्यो लक्ष्यको यो एउटा सुरुवात हो ।” करिब तीन महिनाभित्र सबै सेवाहरु डिजिटलाइज्ड रुपमा सुचारु गर्न सरकारले प्रयास गरिरहेको उहाँले बताउनुभयो । डिजिटल डेको रुपमा पनि आगामी दिनमा यस दिनलाई स्मरण गरिने मन्त्री गुरुङले बताउनुभयो ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ‘नागरिक एप’ सार्वजनिक सेवा प्रदान गर्ने महत्वपूर्ण ‘एप’ भएको बताउनुभयो । जनताको हातहातमा सेवा पु¥याउन र समृद्ध नेपाल निर्माणमा कोसेढुङ्गा सावित हुने बताउनुभयो । नौ वटा कार्यक्रम परीक्षणकोरुपमा सेवा प्रदान गर्न गइरहेको सचिव बस्यालले जानकारी दिनुभयो । “सरकारले प्रदान गर्ने सेवालाई घरमै बसेर लिन सकिन्छ” उहाँले भन्नुभयो, “नेपाली नागरिकलाई स्मार्ट नागरिक बनाउने उद्देश्यसाथ एप शुरु गरिएको हो ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्